दिपक मल्होत्राले २ अर्बमा बेचेको बुढीगण्डकीको सेयरको भुक्तानी १ वर्षभित्र किस्ताबन्दीमा हुने



काठमाडौं । टाइम्स इनर्जी र साहस ऊर्जा लिमिटेडबीच एक वर्षभित्र ९५ प्रतिशत हस्तान्तरण हुने गरी सम्झौता भएको पाइएको छ ।

टाइम्स इनर्जीको नाममा रहेको ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको लाइसेन्स साहस ऊर्जा लिमिटेडले २ अर्ब रुपैयाँमा किनेको हो । माघ पहिलो साता टाइम्स इनर्जी र साहस ऊर्जाबीच द्धिपक्षीय सम्झौता (एमओयु) भएको थियो । तर सेयर खरिद/बिक्री सम्झौता (एसपीए) भने भएको थिएन । एसपीए पनि २ महिना पहिले गरेको पाइएको छ ।  

२ अर्ब रुपैयाँमा लाइसेन्स किनेको चर्चा भएपछि साहस ऊर्जाको आलोचना समेत भएको थियो । आलोचना बढ्न थालेपछि आपसी सल्लाहमा एसपीए गोप्य राखिएको बुझिएको छ ।

साहस ऊर्जाका अध्यक्ष हिम पाठकले एक वर्षभित्र ९५ प्रतिशत सेयर हस्तान्तरण हुने गरी सम्झौता भएको बताए ।

‘हामीले किस्ता किस्तामा रकम दिइरहेका छौं । उहाँहरुले एक वर्षभित्र आयोजनाको सेयर हस्तान्तरण गर्नुहुन्छ’ पाठकले क्लिकमान्डुसँग भने- ‘टाइम्स इनर्जीको ५ प्रतिशत सेयर रहन्छ ।’

उनले बजार डिल भाडियो भन्दै आएको हल्लामा कुनै सत्यता नरहेको समेत स्पष्ट पारे । ‘हामीले आयोजना लिएका छौं । पूर्वतयारीका काम थालेर निर्माणमा लैजान्छौं,’ उनले भने- ‘अब यो आयोजना निर्माण अघि बढ्छ ।’

साहस ऊर्जाले ८६ मेगावाटको सोलुखोला (दुधकोसी) जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याएको छ । यो निजी क्षेत्रकै अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना हो । जुन २०७९ माघदेखि निरन्तर व्यवसायिक उत्पादनमा छ । आयोजना सोलुखुम्बुको सोलुदुधकुण्ड र नगवरपालिकाम र थुलुङ दुधकोसी गाउँपालिमा निर्माण भएको छ ।

साहस ऊर्जाले बनाएको सोलुखोला जलविद्युत् आयोजनाको पावर हाउस

सोलुखोलाको अनुभवका आधारमा कम्पनीले ५०० मेगावाटसम्मको आयोजना निर्माण गर्ने लक्ष्य बनाएको थियो । कम्पनीले केहि आयोजनाहरुसंग छलफल समेत गरेको थियो । टाइम्स इनर्जीसंग भएको छलफलमा डिल मिलेको हो ।

टाइम्स इनर्जी आइएमएस ग्रुपको कम्पनी हो । आइएमएस ग्रुप व्यवसायि दिपक मल्होत्राको कम्पनी हो । स्रोतका अनुसार साहस ऊर्जाले डेढ अर्ब रुपैयाँमात्रै दिन सक्ने बताएको थियो । तर मल्होत्रा अध्ययनका क्रममा ठूलो खर्च भएको भन्दै २ अर्ब रुपैयाँभन्दा तल बेच्न नसक्ने अडान राखेका थिए । उनले अरु कम्पनीले समेत लिन इच्छा गरिरहेको बताएका थिए ।

‘बढाबढ जस्तो परेर महँगोमा आयोजना किन्नु परेको हो । यसरी महँगोमा किनेपछि लागत पनि बढ्छ नी,’ कम्पनीका एक इन्जिनियरले बताए ।

प्रस्तावित बुढीगण्डकी जलविद्यत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता भएको छैन् । विद्युत् प्राधिकरणले पीपीएको अन्तिम स्वीकृति माग गर्दै विद्युत नियमन आयोगलाई सिफारिस गरेको छ । आयोगले पीपीएमा स्वीकृति दिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

आयोगले स्वीकृति दिएपछि पीपीए हुन्छ । पीपीए भएपछि फाइनान्सियल क्लोजर  (लगानीको अन्तिम टुंगो) लगाउने बाटो खुल्छ। प्रस्तावित दर अनुसार वर्षायाममा ४.८० रुपैयाँ प्रतियुनिट र सुक्खा याममा ८.८० रुपैयाँ, ९.४० रुपैयाँ र १०.५५ रुपैयाँ तोकिएको छ ।

व्यवसायी मल्होत्रा र साहस ऊर्जाबीच भएको सम्झौता

प्रस्तावित जलविद्युत् आयोजना पिकिङ रन अफ दि रिभर (अर्ध-जलाशय) प्रकृतिको हो । यो आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भएर स्वीकृत भइसकेको छ । अध्ययन अनुसार यो जलविद्युत् आयोजना गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीको पानी उपयोग गरेर निर्माण गरिनेछ ।

आयोजनाबाट वार्षिक सरदर १८६७.७७४ गिगावाट आवर उत्पादन गर्नेछ । वर्षायाममा १३०४.०३९ गिगावाट आवर र सुक्खायाममा ५६३.७३५ गिगावाट आवर उत्पादन हुनेछ । यो आयोजना निर्माणका लागि ५५ अर्ब ५८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर यो लागत बढेर करिब ६५ अर्ब रुपैयाँभन्दा बढी भइसकेको छ । निर्माणमा जादासम्म अझै बढ्न सक्ने अनुमान छ ।

साहस ऊर्जाका अध्यक्ष पाठकले निर्माणमा लैजाने तयारीका  साथ काम भइरहेको बताए ।

‘आयोजना लिने सहमति भएको बल्ल दुई महिना भएको छ । हामीले लगानी खोज्दै छौं । निर्माण तयारीको काममा लागेका छौं’ उनले भने ।


दिनेश खड्का