३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको पीपीए हुँदै, १०.५५ रुपैयाँ प्रतियुनिटसम्म पाउने



काठमाडौं । ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) हुने भएको छ ।

विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाइ गरेर पीपीएमा सहमति दिन लागेको हो । सार्वजनिक सुनुवाईसम्म कसैको उजुरी,गुनास नपरे सहमति दिइन्छ ।

नेपाल विद्युत प्राधिकरणले पीपीए दर तोकेर अन्तिम स्वीकृतिका लागि नियमन आयोग पठाएको हो । प्रस्तावित दर अनुसार वर्षायाममा ४.८० रुपैयाँ प्रतियुनिट र सुक्खा याममा ८.८० रुपैयाँ, ९.४० रुपैयाँ र १०.५५ रुपैयाँ तोकिएको छ ।

प्रस्तावित आयोजना पिकिङ रन अफ दि रिभर (अर्ध-जलाशय) प्रकृतिको आयोजना हो । नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको जलविद्युत् आयोजनाभन्दा अर्ध-जलाशय प्रकृतिका जलविद्युत आयोजनाले धेरै रेट पाउँछ । आरओआरका आयोजनाको हिउँदमा ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँ पाउँछ ।

यो आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भएर स्वीकृत भइसकेको छ । अध्ययन अनुसार यो जलविद्युत् आयोजना गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीको पानी उपयोग गरेर निर्माण गरिनेछ ।

आयोजनाबाट वार्षिक सरदर १८६७.७७४ गिगावाट आवर उत्पादन गर्नेछ । वर्षायाममा १३०४.०३९ गिगावाट आवर र सुक्खायाममा ५६३.७३५ गिगावाट आवर उत्पादन हुनेछ । यो आयोजना निर्माणका लागि ५५ अर्ब ५८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यो जलविद्युत आयोजनाको निर्माण टाइम्स इनर्जी प्रालिले गर्न लागेको छ । यो व्यवसायी दिपक मल्होत्राको कम्पनी हो । उनले साहस ऊर्जा लिमिटेडलाई यो आयोजना २०० करोड रुपैयाँमा बेच्ने सहमति गरिसकेका छन् । तर औपचारिक सम्झौता भने हुन बाँकी छ । साहस ऊर्जाले निजी क्षेत्रकै अहिलेसम्मको ठूलो ८६ मेगावाटको सोलुखोला (दुधकोसी) जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।


क्लिकमान्डु