कालिन्चोक केबलकारको नाफा ३३% ले बढ्यो, होटल बनाउने तयारी



काठमाडौं । पर्यटकको आगमन बढ्दा कालिन्चोक दर्शनले एकै वर्ष साढे ७ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ३३ प्रतिशतले बढेको छ । कम्पनीअनुसार सन् २०२३ मा १ लाख ५० हजार जनाले केबलकारको सेवा लिएको उल्लेख छ ।

कम्पनीले सन् २०२२ मा ५ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा ३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१८ मा स्थापना भएको कम्पनीले केबलकारको सुविधा दिँदै आएको छ ।

दोलखाको पर्यटकीय क्षेत्र कालिन्चोकमा अवस्थित केबलकार एक किलोमिटर लामो छ । उक्त केबलकारमा ४ वटा गोन्डोला छ । सोही गोन्डोलामार्फत् केबलकारले कुरी भ्यालीदेखि कालिन्चोक मन्दिरसम्म पुर्याउँछ ।

केबलकारमा प्रतिघण्टा १९२ यात्रुले यात्रा गर्नसक्ने क्षमता छ । कम्पनीले सन् २०२४ को ६ महिनाको अवधिमा ६५ हजार पर्यटकले केबलकारको सुविधमा लिएको जनाएको छ । जसमा कम्पनीले चालु आवको ६ महिनामै ३ करोड ४० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।

त्यसैगरी, कम्पनीले केबलकारसँगै होटलको सुविधा दिने तयारी गरिरहेको छ । कम्पनीले कालिन्चोकमा ३५ वटा कोठाको सुविधासहित होटल निर्माण गर्ने तयारी गरेको हो । कम्पनीको अध्यक्ष बालकृष्ण शिवाकोटी र सीईओ अशोक शिवाकोटी हुन् ।


क्लिकमान्डु