राजेश मेटल क्राफ्टको व्यापार आधा घट्यो



काठमाडौं । राजेश मेटल क्राफ्ट व्यापार प्रालिको व्यापार आधा घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ४८ प्रतिशतले घटेको हो।

कम्पनीले सन् २०२२ मा ८ अर्ब ५७ करोड ९० लाख रुपैयाँको कारोबार गरेको कम्पनी सन् २०२३ मा ४ अर्ब ४६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा ७ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ र सन् २०१९ मा ७ अर्ब ८२ करोड ९१ लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२३ मा बजारमा निर्माण सामग्रीको माग कम हुँदा व्यापार असर परेको हो। साथै, नाफामा पनि प्रभाव परेको कम्पनीको भनाइ छ ।

सन् १९९३ मा स्थापना भएको कम्पनीमा श्रवण अग्रवालका दुई छोरा राजेशकुमार अग्रवाल र विष्णुकुमार अग्रवालको स्वामित्व छ । कम्पनीले स्टिलजन्य सामग्री पाइप र जस्तापाता उत्पादन गर्दै आएको छ । त्यस्तै, कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ ।

सन् २०२३ व्यापार गरेकोमध्ये जस्तापाताको हिस्सा ६० प्रतिशतदेखि ६२ प्रतिशत छ भने २० देखि २३ प्रतिशत पाइपको छ ।
त्यसैगरी, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब रुपैयाँको रेटिङ गराएको छ।


क्लिकमान्डु