८ महिनामा १ अर्ब ३३ करोड रुपैयाँको चाउचाउ र पास्ता निर्यात, सबैभन्दा धेरै युएई पुग्यो



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विश्वका विभिन्न मुलुकमा १ अर्ब ३३ करोड ९ लाख रुपैयाँको चाउचाउ तथा पास्ता निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको ८ महिनाको अवधिमा नेपालले १ अर्ब ३३ करोड ९ लाख रुपैयाँको ४४ लाख ४१ हजार केजी चाउचाउ तथा पास्ता निर्यात गरेको देखाउँछ ।

गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आवको सोही अवधिमा चाउचाउ तथा पास्ता निर्यात १० प्रतिशतले बढेको छ । गत आवको ८ महिनाको अवधिमा नेपालबाट १ अर्ब २० करोड ८८ लाख रुपैयाँको निर्यात गरेको थियो । साथै, नेपालले गत आवमा २ अर्ब २९ करोड ६१ लाख रुपैयाँको चाउचाउ तथा पास्ता निर्यात गरेको थियो ।

नेपालबाट सबैभन्दा धेरै युएईमा निर्यात हुने गरेको पाइएको छ । नपालबाट ८ महिनाको अवधिमा सवा १ अर्ब रुपैयाँ बढीको चाउचाउ तथा पास्ता निर्यात गर्दा युएईमा मात्रै ५५ करोड ७७ लाख रुपैयाँको २३ लाख २७ हजार केजी चाउचाउ तथा पास्ता निर्यात भएको छ । युएईपछि अष्ट्रेलियामा निर्यात भएको छ । अष्ट्रेलियामा १५ करोड ४८ लाख रुपैयाँको ४ लाख ९० हजार केजी निर्यात गरेको छ ।

त्यस्तै, नेपालबाट ८ महिनाको अवधिमा बहराइनमा ३५ लाख रुपैयाँको ८ हजार केजी, बेल्जियममा ८९ लाख रुपैयाँको ३० हजार केजी, भुटानमा १० लाख रुपैयाँको २ हजार केजी, क्यानाडामा ६२ लाख रुपैयाँको १४ हजार केजी, चीनमा ६ करोड ४४ लाख रुपैयाँको ३ लाख ७ हजार केजी, फिनल्यान्डमा ६ करोड ८६ लाख रुपैयाँको २ लाख ३३ हजार केजी र जर्मनीमा ५५ लाख रुपैयाँको २० हजार केजी चाउचाउ तथा पास्ता निर्यात गरेको छ ।

विभागको तथ्याङ्कअनुसार ८ महिनाको अवधिमा हङकङमा ३ करोड ५५ लाख रुपैयाँको ९४ हजार केजी, भारतमा ३८ लाख रुपैयाँको १० हजार केजी, इजरायलमा २ करोड ४७ लाख रुपैयाँको ७८ हजार केजी, इटलीमा २ करोड ७५ लाख रुपैयाँको ८६ हजार केजी, जापानमा १३ करोड ३३ लाख रुपैयाँको ४ लाख ५१ हजार केजी, दक्षिण कोरियामा २ करोड ८ लाख रुपैयाँको ३७ हजार केजी, कुवेतमा १४ लाख रुपैयाँको ४८ सय केजी, मलेसियामा ११ लाख रुपैयाँको २७ सय केजी र न्यजिल्यान्डमा ४ करोड १२ लाख रुपैयाँको १ लाख २३ हजार केजी पास्ता निर्यात गरेको देखाउँछ ।

त्यसैगरी, कतारमा २६ लाख रुपैयाँको ६ हजार केजी, सिसेल्समा २४ लाख रुपैयाँको ११ हजार केजी, सिङ्गापुरमा १४ करोड ३० लाख रुपैयाँको २३ हजार केजी, बेलायतमा २ करोड १४ लाख रुपैयाँको ६९ हजार केजी र अमेरिकमा २ करोड २७ लाख रुपैयाँको ७६ हजार केजी चाउचाउ तथा पास्ता निर्यात गरेको छ।


क्लिकमान्डु