केन्द्रीय बैंकको डिजिटल मुद्राको व्यवस्थापनका लागि स्वीफ्टले नयाँ प्लटफर्म ल्याउँदै



एजेन्सी । विश्वभरका बैंकहरुको नेटवर्क स्वीफ्टले आगामी दुई वर्षमा केन्द्रीय बैंकको डिजिटल मुद्राको व्यवस्थापनका लागि नयाँ प्लेटफर्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

स्वीफ्टले आगामी एक वा दुई वर्षभित्रमा नै केन्द्रीय बैंकहरुले जारी गर्ने डिजिटल मुद्रालाई जोड्नका लागि नयाँ प्लेटफर्म ल्याउने तयारी गरेको रोयटर्सले जनाएको छ । यसका लागि स्वीफ्टले पहिल्यैबाट रहेको वित्तीय प्रणालीमा नयाँ विकासका कामहरु पनि गरिइरहेको जनाएको छ ।

विश्वभरको बैंकिङ प्रणालीका लागि स्वीफ्टको यो कदमलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । डिजिटल मुद्रालाई मुलधारको मुद्राको रुपमा स्थापीत गर्नका लागि पनि स्वीफ्टको यो कदमले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

कम्पनीले ल्याउने नयाँ प्लेटफर्ममा विभिन्न देशहरुको केन्द्रीय बैंकको डिजिटल मुद्रालाई कसरी एकसाथ राख्ने गरि ल्याउन सकिन्छ र सम्भावित जोखिबाट सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा हाल काम भइरहेको छ ।

स्वीफ्टको इनोभेसन विभागका प्रमुख निक केरिगनले बताएअनुसार उक्त प्लेटफर्मको पछिल्लो ट्रायलमा विभिन्न देशका ३८ केन्द्रीय बैंक, कर्मसियल बैंक र सेटलमेन्ट प्लेटफर्महरु सामेल रहेका थिए ।

करिब ६ महिना लागेको उक्त प्रशिक्षणात्मक प्रयोगमा केन्द्रीय बैंकको डिजिटल मुद्रालाई लिएर गरिएको हालसम्मकै सबैभन्दा ठूलो समन्वय रहेको उनले बताएका छन् ।

स्वीफ्टको हालको नेटवर्क विश्वभरका २ सयभन्दा धेरै देशमा प्रयोग गरिन्छ भने ११ हजार ५ सयभन्दा धेरै बैंकहरुलाई यसले जोड्ने गरेको छ ।

निकले भनेका छन्, ‘हाम्रो अहिलेको रोडम्यापकाअनुसार आगामी १२ देखि २४ महिनाभित्रमा यो प्रोडक्टलाई ल्याउने तयारी रहेको छ । यो अहिले प्रयोगात्मक चरणबाट वास्तविक प्रयोजनको अवस्थामा पुग्ने चरणमा रहेको छ ।’


क्लिकमान्डु