श्री एयरलाइन्सले थप्यो २ वटा विमान, जहाजको संख्या १० वटा पुग्यो



काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले २ वटा जहाज थप गरेको छ । क्यानाडाको तत्कालीन बम्बार्डियर हालको डि हाभिल्याण्ड अफ क्यानाडामा बनेको ८० सिट क्षमताका दुईवटा जहाज थप गरेको छ । श्रीले ९एन-एओके र ९एन-एओएल कलसाइनको जहाज थप गरेको हो ।

मंगलबार थप भएका दुइसहित यो वायुसेवाका नियमि उडानका जहाजको संख्या १० वटा पुगेको छ । श्रीसँग ५० सिट क्षमताको सीआरजे २ वटा, ७० सिट क्षमताको सीआरजे अर्को २ वटा र नयाँ थप भएका ८० सिट क्षमताको ड्यास क्यु ४०० नामक ६ वटा सहित यसका जहाज संख्या १० वटा पुगेका छन् । यो बाहेक श्रीसँग २४ सिट क्षमताका ६ वटा र ५ सिट क्षमताका २ वटा गरी ६ वटा हेलिकप्टर समेत छन् ।

यो वायुसेवाले भित्र्याएका दुई जहाज संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरले उडाएका जहाज हुन् । यी दुबै जहाजहरु अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरुलाई कम ध्वनी अनुभुति गर्नेखालका रहेको पनि श्री एयरलाइन्सले जानकारी दिएको छ ।

यी जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरु भन्दा दोब्बर शक्तिशाली ५४०० साफ्ट हर्षपावर भएको अत्यन्तै भरपर्दो भएको पनि श्री एयरलाइन्सले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

श्रीले ल्याएका यी जहाज अमेरिकाको अरेगन राज्यको करिब २५ घण्टाको उडान गरेर मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । यो वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु यथाशीघ्र पूरा गरी उक्त विमानहरुबाट नियमित यात्रु सेवामा खटिने भएका छन् ।

सन् २०१७ बाट ५० सिट क्षमताको २ वटा सि आर जे २०० तथा ७० सिट क्षमताको २ वटा आर जे ७०० जेट विमानहरुबाट यसले नियमित उडान संचालन सुरु गरेको छ ।

श्री एयरलाइन्सले सेवा शुरु गरिसके पछि यात्रुहरुले सहुलियत भाडादरमा यात्रा गर्न पाएका छन् भने बजारमा प्रतिस्पर्धी सेवा शुरु भएको पनि उल्लेख छ ।

यसले काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी आदि विमानस्थलहरुमा र पर्वतीय उडानहरु नियमित रुपमा हवाई सेवा संचालन गरिरहेको छ ।

सन् २०१९ देखि २ वटा र सन् २०२२ मा थप २ गरि ४ वटा ८० सिट क्षमताको क्यानाडा निर्मित क्यु ४०० ड्यास ८ विमानहरुबाट थप गन्तव्य पोखरा, सुर्खेत, जनकपुर र सिमरामा समेत सेवा विस्तार गरेको छ ।


क्लिकमान्डु