गोदावरी बिजनेस अर्गनाइजेशनले एकैवर्ष गर्‍यो ९ अर्बको व्यापार, साढे ३ अर्ब लागतमा नयाँ उद्योग खोल्दै



काठमाडौं । गोदावरी बिजनेस अर्गनाइजेशनले एकै वर्ष ९ अर्ब रुपैयाँको व्यापार गरेको छ । अर्गनाजेशनद्वारा सञ्चालित तीन वटा कम्पनीले २०२३ मा ८ अर्ब ८७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

अर्गनाइजेशनको गोदावरी स्टिल कम्पनीले ६ अर्ब ३० करोड १० लाख रुपैयाँ, गोदावरी आइरन स्टोर्सले १ अर्ब ७८ करोड रुपैयाँ र गोदावरी पोलिस्याक्सले ७९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

मुन्नाप्रसाद सेनुरिया बानियाँको स्वामित्वको अर्गनाइजेशन सन् १९५० मा स्थापना भएको हो । अर्गनाइजेशनले लामो समयदेखि एचडीपीई पाइप, गार्डेन पाइप एण्ड वाटर ट्यान्क, व्यापार र निर्माण सामग्रीको आपूर्ति, ट्रान्सफर्मर र फ्याब्रिकेशनको रिपेयर र खानेपानीको हार्डवेयरसम्बन्धी सामग्रीको व्यापार गर्दै आएको छ ।

गोदावरी स्टिल प्रालि

गोदावरी स्टिलको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा १६ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२२ मा ५ अर्ब ४१ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा ६ अर्ब ३० करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ३ अर्ब १ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले टीएमटी र प्लेन स्टिल बार उत्पादन गर्दै आएको छ । दैनिक ६ सय मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले गोदावरी स्टिल ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा ९.०४ प्रतिशतले नाफा कमाएको जनाएको छ ।

सन् २०२२ मा ६.९८ प्रतिशतले नाफा कमाएको थियो । त्यस्तै, कम्पनीले डण्डी उत्पादनका लागि नयाँ उद्योग विस्तार गरिरहेको छ । कम्पनीले ३ अर्ब ६२ करोड ४० लाख रुपैयाँ लागतमा टीएमटी बार उत्पादन गर्ने सीसीएम मेसिन, रोलिङ मिल र वाइर रोड युनिट विस्तार गर्ने भएको हो । कम्पनीले उक्त उद्योग निर्माणका लागि सुरुमा ३ अर्ब १ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरेको थियो । निर्माण कार्य ढिला हुँदा लागत बढेर साढे ३ अर्ब नाघेको कम्पनीको भनाइ छ । कम्पनीले उक्त उद्योग निर्माणका लागि ७०:३० को अनुपातमा लगानी गर्ने भएको छ ।

कम्पनीकाअनुसार रोलिङ मिल र सीसीएम उद्योग सन् २०२३ देखि सञ्चालनमा आइसकेको छ । तर, प्लेन रोड उत्पादन गर्ने उद्योग भने आगामी २०२५ देखि सञ्चालनमा आउने उल्लेख गरेको छ । कम्पनीले उक्त उद्योग विस्तार गर्नका लागि ७ अर्ब ६० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब २६ करोड ९६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ३३ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको छ ।

गोदावरी आइरन स्टार्स प्रालि

अर्गनाइजेशनद्वारा सञ्चालित अर्को कम्पनी गोदावरी आइरन स्टार्सको व्यापारमा उछाल आएको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ७८ करोड रुपैयाँको व्यापार गरेको छ । जबकी कम्पनीले सन् २०२२ मा ८९ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा ६६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले निर्माण सामग्री जस्तै स्टिल, सिमेन्ट र हार्डवेयरको बजारको मागअनुसार बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीकाअनुसार सन् २०२३ मा निर्माण सामग्री बजार माग बढ्दा व्यापार उच्च भएको जनाएको छ । त्यस्तै, कम्पनीले सन् २०२३ मा ३.३९ प्रतिशतले नाफा कमाएको छ । त्यस्तै, कम्पनीले ७१ करोड १ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १७ करोड १ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५४ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले भारतबाट विभिन्न सामग्री आयात गरी बिक्री वितरण गर्दै आएको छ ।

गोदावरी पोलिस्याक्स एण्ड फ्याब प्रालि

अर्गनाइजेशद्वारा सञ्चालित गोदावरी पोलिस्याक्स एण्ड फ्याब प्रालिको व्यापार पनि बढेको छ । कम्पनीले सन् २०२२ मा ६३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा बढेर कम्पनीले ७९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ६३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले टर्पिलिन र पोलिस्याक्स ब्याग उत्पादन गर्दै आएको छ । हटौंडामा रहेको कम्पनीले वार्षिक ६ हजार मेट्रिक टन टर्पिलिन र पोलिस्याक्स ब्याग उत्पादन गर्दै आएको छ । कम्पनीको देशभर चार वटा शाखा छ भने २ सय बढी वितरक छन् । कम्पनीले सन् २०२३ मा ०.१५ प्रतिशत नाफा कमाएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६५ करोड ४६ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु