सुबिसु केबलनेटको व्यापार ८ प्रतिशतले घट्यो, साढे ३ अर्बको कारोबार



काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटको व्यापार ८.१३ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन २०२३ मा ८.१३ प्रतिशतले घटेको हो ।

इन्टरनेट सेवा प्रदायक कम्पनीले सन् २०२३ मा ३ अर्ब ४६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ७७ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । साथै, कम्पनीले सन् २०२१ मा ३ अर्ब ५१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९९ मा स्थापना भएको कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीमा परिणत गरेको छ । कम्पनीले फाइबर र केबल इन्टरनेट र डिजिटल टिभीको सेवा दिँदै आएको छ । नेपाल टप ५ इन्टरनेट प्रदायक कम्पनीमध्ये सुबिसु पनि एक हो ।

सुरेन्द्र श्रेष्ठ अध्यक्ष रहेको कम्पनीले आफ्नो सञ्जाल विस्तार गर्न उच्च लगानी गरेको छ । कम्पनीले देशभर सेवा दिनका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ६२ करोड ८३ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ४ करोड ४ लाख रुपैयाँको रेटिङ गराएको छ । अहिले नेपालभर ६२ वटा इजाजत प्राप्त इन्टरनेट प्रदायक संस्था छन् । उक्त इनटरनेट प्रदायक सेवामा २९ लाख लाख ग्राहक जोडिएका छन् ।

सुबिसुले नेपाली बजारको १० प्रतिशत हिस्सा ओगटेको छ । सुविसुको सेवामा २ लाख ८० हजार ग्राहक छन् । ७७ वटा जिल्लामै उपस्थिति जनाएका सुबिसुको उपत्यकामा १० वटा स्टेशन छ । साथै, सुबिसुको देशभर ३१ वटा शाखा छन् । त्यस्तै, सुबिसुले १५७ वटा फ्रेन्चाइजको सेवा दिँदै आएको छ ।

सुबिसुले आम्दानी गरेकोमध्ये ५२ प्रतिशत खुद्रा ग्राहकबाट भएको जनाएको छ । त्यस्तै, सन् २०२४ को ६ महिनाको अवधिमा खुद्रा ग्राहकको हिस्सा ६० प्रतिशत पुगेको उल्लेख छ । त्यस्तै, सुबिसुको २३ प्रतिशत कर्पोरेट क्षेत्र र १८ प्रतिशत अन्य क्षेत्र रहेको जनाएको छ ।


क्लिकमान्डु