भारतीयभन्दा खुसी छन् नेपाली



काठमाडौं । नेपालसँगको तुलनामा हेर्ने हो भने भारतमा विकास छ । भारत आकार र अर्थतन्त्रमा मात्रै होइन, अन्य पक्षहरुमा पनि नेपालभन्दा धेरै समृद्ध अवस्थामा छ । भारतका सडकदेखि पूर्वाधारमा पछिल्ला समयमा भएको विकास उच्च छ । तर, यी सबै हुँदा हुँदै पनि नेपालीहरु भारतीयभन्दा खुसी छन् ।

वर्ल्ड ह्याप्पीनेस इन्डेक्स २०२४ को पछिल्लो तथ्यांकले नेपालीहरुको अवस्था भारतीय नागरिकको भन्दा खुसी रहेको देखाएको छ ।

१४३ देशहरुको खुसीको स्तर मापन गर्दै सार्वजनिक गरिएको यो रिपोर्टमा नेपालले ९३ औं स्थान सुनिश्चित गरेको हो । भारत भने १२६ औं स्थानमा रहेको छ । विश्वकै सबैभन्दा कम खुसी नागरिक रहेको देश भने अफगानिस्तान रहेको यो इन्डेक्सले देखाएको छ ।

विश्वभरका देशहरुमा रहेका नागरिकहरुको जीवनका विभिन्न पक्षहरुलाई आधार मान्दै यो प्रतिवेदन ग्यालप, द अक्सफोर्ड बेलबिइंग रिशर्च सेन्टर, संयुक्त राष्ट्रसंघीय डेभलपमेन्ट सोलुसन्स नेटवर्क र एक सम्पादकीय बोर्डले तयार गरेको हो । यो इन्डेक्समा विभिन्न देशहरुका नागरिकको प्रति व्यक्ति कुल गाह्रस्थय उत्पादन, सामाजिक सहयोग, स्वास्थ्य, स्वतन्त्रता, सहृदयता र भ्रष्टाचारजस्ता विषयबारे जनमतसहितको अध्ययन गरिएको थियो ।

सो इन्डेक्समा दक्षिण एसियाली देशहरुको तुलनामा हेर्ने हो भने नेपाल यीमध्ये सबैभन्दा धेरै खुसी देशका रुपमा चिनिएको छ । दक्षिण एसियाली अन्य देशहरुको तुलनामा नेपालीहरुको खुसीको स्तर उच्च रहेको पाइएको हो । दक्षिण एसियाका मालदिभ्स र भुटानलाई भने यो खुसीमा समावेश गरिएको छैन ।

नेपालका छिमेकी देशहरुको अवस्था हेर्ने हो भने चीन नेपालभन्दा खुसी रहेको छ । चीन ६० औं स्थानमा छ । नेपालको अर्को छिमेकी देश भारत भने १२६ औं स्थानमा रहेको छ । त्यस्तै, दक्षिण एसियाका अन्य देशहरुमा पाकिस्तान १०८ औं स्थानमा छ । म्यानमार ११८ स्थानमा, श्रीलंका १२८ औं स्थानमा, बंगलादेश १२९ औं स्थानमा र अफगानिस्तान १४३ औं स्थानमा रहेको छ ।


क्लिकमान्डु