रुसी सेनामा ज्यान गुमाएका नेपालीको शव चिन्नका लागि काठमाडौंमा परिवारका सदस्यको डीएनए संकलन



काठमाडौं । रुसी सेनामा मृत्यु भएका नेपालीको शवको पुष्टिका लागि डीएनए संकलन गरिएको छ ।

रुसी सेनामा भर्ना भएर ज्यान गुमाएका नेपालीका परिवारले काठमाडौं स्थित त्रिवि शिक्षण अस्पतालमा शव पुष्टिका लागी डीएनएको नमूना दिएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार गत २४ फागुनमा रुसले रुसी सेनामा मृत्यु भएका १५ जना नेपालीको शव पहिचानका लागि नेपालबाट परिवारका सदस्यको डीएनएको नमुना पठाइदिन पत्राचार गरेको थियो ।

परराष्ट्रको कन्सुलर सेवा विभागले दाङका जीतबहादुर पुन मगर र अभिषेक बुढा, नवलपरासीका प्रेमप्रकाश न्यौपाने, बाँकेका चन्द्रबहादुर बिसी, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङ, प्यूठानका सोमेश सुनुवार र विकास राई, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, तेह्रथुमका टीकाबहादुर रानामगर र भीमबहादुर बिसी, खोटाङका क्षितिज बस्नेतको परिवारको डीएनए नमुना पठाइदिन भनेको हो ।

कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार हालसम्म १५ जनामध्ये ८ जनाको नमूना रुस पठाइएको छ।


क्लिकमान्डु