दिमागमा चिप राखेर अनुसन्धान गरिरहेको न्यूरोलिंकलाई सफलता, हात नभएका मान्छेले खेले भिडियोगेम



काठमाडौं । अर्बपति एलन मस्कको कम्पनी न्यूरोलिंकलाई नयाँ सफलता प्राप्त भएको छ । मानिसको दिमागमा चिप राखेर हाल अनुसन्धान गरिइरहेको न्युरोलिंकलाई अर्को सफलता प्राप्त भएको हो । चिप लगाइएका व्यक्तिले भिडियो गेम खेल्न सफल भएका छन् ।

मस्कले सामाजिक सञ्जालमार्फत भिडियो सेयर गर्दै यसबारेमा जानकारी दिएका छन् । मस्कले दिएको जानकारीअनुसार २९ वर्षका नोलेन्ड आबोधमाथि चिप राखेर अनुसन्धान भइरहेको छ । दुवै हात नभएका उनले चिपकै सहायताले भिडियो खेम खेलिरहेको भिडियोमा देखिएको छ । आबोधले आफूले भिडियो गेम फेरि खेल्न पाएको भन्दै बताएको भिडियोमा देखिन्छ ।

मस्कले भिडियो सेयर गर्दै भनेका छन्, ‘न्यूरोलिंकले टेलिपैथीको प्रदर्शन गरेको छ । ’

न्युरोलिंकले गत जनवरीमा मानिसको दिमागमा शल्यक्रियामार्फत चिप इम्प्लान्ट गर्नमा सफलता पाएको थियो । सिक्काको आकारको हुने उक्त चिपको सहायताले मानिसको दिमाग र कम्प्युटरबीच प्रत्यक्ष सञ्चार सम्बन्ध स्थापित हुने बताइएको छ ।

ह्युमन ट्रायल पूर्ण रुपमा सफल भएमा दृष्टिबिहिन मानिसले देख्न पाउने, प्यारालाइसिस भएकाहरुले कम्प्युटर चलाउन तथा फेरि हिँडडुल गर्न पाउनेजस्ता सम्भावना रहेको बताइएको छ ।

सन् २०२३ को सेप्टेम्बरमा मस्कको कम्पनीलाई मानिसको दिमागमा चिप राख्नका लागि अनुमति दिइएको थियो । ट्रायल न्युरोलिंकको सम्पूर्ण अध्ययन सकिन भने ६ वर्ष लाग्ने बताइएको छ ।


क्लिकमान्डु