श्रममन्त्री अर्यालद्वारा टेलिमेडिसिन सेवाको अवलोकन, ८ महिनामा १ हजार ६३२ जनाले लिए टेलिमेसिन सेवा



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार बोर्डले श्रमिकहरुको लागि सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवाको अवलोकन गरेका छन् । बुधबार वीर अस्पताल पुगी मन्त्री अर्यालले टेलिमेडिसिन सेवाको बिषयमा जानकारी लिएका छन् ।

पछिल्लो समयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा स्वास्थ्य समस्या बढ्दै गएपछि श्रम मन्त्रालयले बोर्डमार्फत टेलिमेडिसिन सेवा सुरु गरेको हो ।

बोर्डले गत २०७९ चैत १० गतेदेखि सेवा सञ्चालनमा ल्याएको हो । बोर्डले वीर अस्पतालबाट नै यो सेवा सञ्चालन गर्दै आएको छ । श्रमिकले फेसबुक, ह्वाटएप, भाईवर, ईमो लगायतका सामाजिक सञ्जाल मार्फत सम्पर्क गरी यो सेवा लिन सक्नेछन । टेलिमेडिसिन सेवा सम्बन्धी जानकारी लिदै मन्त्री अर्यालले यो सेवालाई अझै चुस्त तथा प्रभावकारी बनाइने बताए ।

बोर्डको सहकार्यमा वीर अस्पतालले विहान १० बजे देखि बेलुका ६ बजेसम्म यो सेवा सञ्चालन गर्दे आएको छ । टेलिमेडिसिन सेवाका लागि मेडिकल अधिकृत र हेल्थ असिस्टेन्ट नियमित खटाइएको छ । प्रत्येक साताको शुक्रबार र आईतबार श्रमिकको स्वास्थ्य समस्याको आधारमा विशेषज्ञ चिकित्सक समेत उपलब्ध गराईन्छ । अहिले दैनिक २५ देखि ३० जना श्रमिकले टेलिमेडिसिन सेवा लिइरहेका छन् ।

हालसम्म १८ वटा मुलुकमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् । अस्पतालले विभिन्न ११ प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।

चालु आर्थिक बर्ष २०८०/८१ को फागुन महिनासम्ममा एक हजार ६३२ जना श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् । जसमध्ये मलेसियाबाट ३९४, साउदी अरब ३१०, युएई १९२, कतार १७५, कुवेत १७१, कोरिया १५७, ओमान ५७, साईप्रस ५३, जापान ४०, रोमानिया ३५, बहराइन १२, जाम्बिया १०, जर्मनी ९, माल्दिभ्स ७, इराक ४, माल्टा ३, युके १० र अफ्रिकाबाट एक जना श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् ।

टेलिमेडिसिनमा सेवा मार्फत ४०० जना श्रमिकलाई स्वास्थ्य तथा औषधी सम्बन्धी परामर्श उपलब्ध गराईएको छ । २७३ जनालाई सर्जरी सम्बन्धी परामर्श, १८३ अर्थोपेडिक, २१७ जनालाई ईएनटि, १२५ छाला सम्बन्धी, २३५ मानसिक समस्या, १९ आँखा सम्बन्धी, ३१ दाँत सम्बन्धी, ४२ जनालाई पेट सम्बन्धी, ४४ जनालाई युरोलोजी सम्बन्धी र ६३ अन्य विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।


क्लिकमान्डु