बचतकर्ता ठग्ने श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्तको सूचीबाट हटाउन संघको माग



काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारीको सूचीबाट हटाउन माग गरेको छ ।

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रहेका सुरेन्द्र भण्डारी नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष हुन् ।

सहकारीले बचतकर्तालाई ठगेको, समयमा नै बचत फिर्ता नगरेको भन्दै सहकारी विभागमा उजुरी आउनेक्रम बढेपछि फागुन २९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

तर, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ भने उक्त सहकारीको बचाउमा लागेर समस्याग्रस्तबाट हटाउन माग गरेको छ ।
सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेको भन्दै संघको गम्भीर ध्यानाकर्षण भएको र मन्त्रालयको उक्त निर्णय फिर्ता लिन माग गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सहकारीको कमजोर संरचनात्मक अवस्था र सरकारको सहकारी ऐन, नियम कार्यान्वयनमा भएको उदासिनताका कारण सहकारी संस्थामा तरलता अभावको चरम समस्या भईरहेको अवस्थामा बचतकर्ताहरुको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको प्रस्ताव सहितको सिफारिसमा भूमि मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा गरी संस्थाको व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको छ ।

विभागको सिफारिसमा सहकारी तथा गरिबी निवारण मन्त्रालयको समस्याग्रस्त घोषणा सम्बन्धी कार्यले सहकारी संस्थाहरुको समस्या समाधान हुन नसक्ने संघको दाबी छ ।


क्लिकमान्डु