सहकारी संस्थाका सञ्चालक, सदस्यले समयमै ऋण नतिरे पालिकाबाट पाउने सेवा सुविधाबाट कट्टा गरी असुल गर्ने



काठमाडौं । सहकारी संस्थाका सञ्चालक तथा सदस्यले लिएको ऋण समयमा नै नतिरे सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ऋणीले पालिकाबाट पाउने सेवा सुविधाबाट कट्टा गरी असुल गर्ने भएको छ ।

चैत ६ गते बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । ‘गाउँपालिकामा कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्तिले पालिका अन्तरगत रहेका कुनैपनि सहकारी संस्थाको सञ्चालक समितिमा रही सदस्यहरूको रकम हिनामिना गरेको भएमा वा उक्त सहकारीलाई बुझाउनु पर्ने ऋण रकम नतिरेको भएमा नीजले गाउँपालिकाबाट पाउने सेवा सुविधा कट्टा गरी असुल उपर गर्ने निर्णय भएको छ’ सूचनामा भनिएको छ ‘कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले सहकारी संस्थामा तिर्नुपर्ने भाखा नाघेको ऋण भएमा यथासक्य छिटो असुली गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ ।’

कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले सहकारी संस्थाको रकम हिनामिना गरेको वा ऋण नतिरेको भनी उजुरी प्राप्त भएमा गाउँकार्यपालिकाको निर्णय अनुसार कारवाही गर्ने पालिकाले जनाएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका भित्र कार्यक्षेत्र बनाई सञ्चालनमा रहेका सहकारी संस्थाहरूबाट ऋण लिने सदस्यहरूले समयमा ऋण असुली नगरेका कारण सहकारी संस्थाहरूको कारोबारमा समस्या आएको गुनासो बढेको सूचनामा उल्लेख छ ।
कतियप सहकारी संस्थाहरूले सदस्यहरूबाट संकलन गरेका बचत फिर्ता गर्न समेत नसकेको भन्ने गुनासो बढेको जनाइएको छ ।


क्लिकमान्डु