अर्थमन्त्रीलाई सांसद ज्वालाको सुझावः बजेट निर्माणमा सांसदहरुको भरोसा गर्नुस्



काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन् ।

सांसद ज्वालाले विज्ञ भने पनि, सल्लाहकार भने पनि, अनुभवी व्यक्ति भने पनि जनतासँग जोडिएको व्यक्ति सांसदहरु भएकाले उनीहरुलाई भरोसा गरेर सरकारले बजेट ल्याउनुपर्ने बताए ।

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले योजना निर्माणमा पनि सांसदहरुको सुझावलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद ज्वालाले सरकारले मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र समृद्धिको चाहनालाई तीव्रता दिनेगरी बजेट ल्याउने अपेक्षा गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ बजेट परम्परा तोडने खालको हुने भन्दै आएको उल्लेख गर्दै सोही अनुसार आउनेमा आफूहरु आशावादी रहेको उनले बताए ।


क्लिकमान्डु