८ महिनामा साढे २ अर्बको सिमेन्ट निर्यात



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा साढे २ अर्ब रुपैयाँको सिमेन्ट निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्ममा २ अर्ब ४७ करोड १७ लाख रुपैयाँको क्लिंकर तथा सिमेन्ट निर्यात गरेको हो।

नेपालले ८ महिनाको अवधिमा १ अर्ब १८ करोड ८७ लाख रुपैयाँको क्लिंकर र १ अर्ब २८ करोड ३९ लाख रुपैयाँको सिमेन्ट निर्यात गरेको विभागले जनाएको छ । सरकारले सिमेन्ट निर्यातको लागि बाटो खुला गरेसँगै निकासी बढ्दो क्रममा छ ।

सरकारले सिमेन्ट निर्यातमा प्रोत्साहन गर्ने नीति लिएपछि उद्योगहरुले लगानी थप गरेर विस्तार गरिरहेका छन् ।

सरकारले बजेटमार्फत् सिमेन्टमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेपछि २०७९ साउनदेखि निकासी सुरु भएको थियो । गत आर्थिक वर्षभरमा ७७ करोड ९३ लाखको सिमेन्ट र क्लिंकर भारत निकासी भएको थियो ।

नेपालबाट अहिले नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालको आरएमसी ग्रुपले उत्पादन गर्ने तानसेन सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहितको अर्घाखाँची सिमेन्ट र विष्णु न्यौपानेको सौरभ ग्रुपले उत्पादन गर्ने सर्वोत्तम सिमेन्ट भारत निकासी भइरहेको छ ।


क्लिकमान्डु