विराटनगर उड्न लागेको बुध्द एयर विमानमा समस्या, रनवेबाट फर्काइयो



फाइल तस्बिर

काठमाडौं । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार (आज ) बेलुका ८ बजेर १० मिनेटमा विराटनगर उड्न लागेको बुध्द एयरको विमानमा समस्या देखिएको छ ।

कल साइन बिएचए ७५१ र रजिष्ट्रेसन नम्बर ९ एन एएमयू को विमान उडान नम्बर ७५१ बाट विराटनगर जान लाग्दा समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एक अधिकारीले जानकारी दिए ।

क्याप्टेन यु आर ओझाले उडाएको विमान ट्याक्सी वेबाट रनवे (धावनमार्ग) तर्फ उडान भर्न जानै लाग्दै अप्राकृतिक आवाज आएको स्रोतको भनाई छ । विमानको को पाइलट सन्दीप पहाडी र एयरहोस्टेज सुस्मा बोहरा थिए ।

‘विमानबाट अप्राकृतिक आवाज आएपछि रनवेमा केही समय गुडेको विमानलाई पार्किङमा फिर्ता गरिएको छ,’विमानस्थल कार्यालयका एक अधिकारीले भने,’विमानमा देखिएको समस्या कस्तो हो भन्ने विषय अनुसन्धानपछि पत्ता लाग्ला ।’

विमानमा अप्राकृतिक आवाज आउँदा पाइटलले उडान स्थगित गर्ने जानकारहरु बताउँछन् ।

सोमबार राति काठमाडौंबाट धनगढी उडान भरेको एएनएच २२७ ९ एनएएनएस उडान नम्बरको श्री एयरको जहाजमा ल्याण्ड गर्ने क्रममा अगाडिको पाङ्ग्रा फुस्किएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने विमानहरुको सेड्युल मेन्टिनेन्स भए/नभइको विषयमा अनुगमन नहुँदा नियमित विमानमा समस्या देखिरहेको बताउँछन् ।

‘यस्तो हुनुमा प्राधिकरण नेतृत्वको कमजोरी छ । विमानहरुको नियमित चेक जाँच नहुँदा यस्तो समस्या देखिएको हो’ उनले भने ।

केही दिन अघि नेपाल वायु सेवा निगमका क्याप्टेन बिजय लामाले दिल्ली उडानका क्रममा एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले दिएको नमानेको स्रोतले जानकारी दिएको छ । एटीसीले धार्के १ डेल्टा उडान गर्न निर्देशन दिएपनि लामाले ढार्के १ चार्लीबाट उडान गरेका थिए । एटीसीको निर्देशन किन नमानेको भन्दै लामालाई सामान्य स्पष्टीकरण समेत नसोधिनु त्रुटीपूर्ण रहेको स्रोतको दाबी छ ।

नेपाललाई हवाई सुरक्षा चासोमा राखेको युरोपियन कमिसनको टोली अहिले नेपालमै छ । नेपालले हवाई सुरक्षामा काम गर्न नसकेको भन्दै ईयुले नेपाललाई कालोसूचीमा राखेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षामा अत्याधिक काम गरेको दाबी गरे पनि नियमित रुपमा हवाई सुरक्षा प्रतिकुल हुने यस्ता घटनाहरु सार्वजनिक हुँदै आएका छन् ।


क्लिकमान्डु