भारतले ‘अतिक्रमण गरेको नेपाली भूमि’ फिर्ता लिने सत्ता गठबन्धनको घोषणा



काठमाडौं । सत्ता गठबन्धनका ५ दलहरूले आफ्नो ‘न्यूनतम नीतिगत प्राथमिकता तथा साझा कार्यक्रम’ घोषणा गरेका छन् ।

मंगलबार नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सम्मिलित गठबन्धनले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता लिन प्रयास गर्ने घोषणा गरेको हुन् ।

‘नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रतालाई थप सुदृढ बनाउने,’पाँच दलको सत्ता गठबन्धनले न्यूनतम नीतिगत प्राथमिकता तथा साझा कार्यक्रममा भनेको छ, ‘ लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि फिर्ता लिन प्रभावकारी कुटनीतिक प्रयास अगाडि बढाउने । सीमाको प्रभावकारी व्यवस्थापन गर्ने ।’

यसअघि एमाले र माओवादी मिलेर बनेको नेकपाबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले लिपुलेक र लिम्पियाधुरा समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । ‘चुच्चे नक्सा’मा समेटिएको भए पनि ति भू-भाग अहिले पनि भारतको नियन्त्रणमा रहेको छ ।

गठबन्धनले नेपालको हितअनुकूल हुने गरी विभिन्न देशहरूसँग भएका सन्धि-सम्झौताहरूको पुनरवलोकन गर्ने गर्ने पनि योजना दोहोर्‍याएको छ ।


क्लिकमान्डु