एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’ मा सरकारसँग सहकार्य गर्ने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘लगानी शिखर सम्मेलन २०२४’ मा नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ ।

संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच सोमबार भएको छलफलमा लगानी सम्मेलनमा सहकार्य गर्ने निर्णय गरिएको हो ।

अध्यक्ष डा केसीले लगानी सम्बन्धि यस्ता सम्मेलन वर्षेनी आयोजना गर्न सके विदेशमा रहेका नेपाली र विदेशीको समेत लगानी भित्र्याउन सकिने धारणा व्यक्त गरे ।

एनआरएनए नेपाल डेभलपमेन्ट फन्डमार्फत गैरआवासीय नेपालीको १० अर्बको लगानी नेपालमा भित्र्याउन सक्रिय परियोजनालाई भविष्यमा ५० अर्बसम्म पुर्याउने लक्ष्य संघको रहेको जनाए । लगानीका क्षेत्र पहिचानमा सरकारको सहयोग र परामर्श आवश्यक रहेको डा केसीको भनाई थियो ।

छलफलका क्रममा लगानी बोर्डका प्रमुख सुशिल भट्टले संसारभरिबाट नेपालमा लगानी गर्न सक्षम तथा उत्सुक नेपालीहरु तथा बिदेशीहरुसंग समन्वय गरेर लगानी सम्मेलनमा प्रभाबकारी सहभागिता जनाउन संघसंग अनुरोध गरे ।

विगतमा गैरआवासीय नेपाली संघसँग सरकारले महत्वपूर्ण योजना तथा कार्यक्रममा सहकार्य गरेको स्मरण गर्दै लगानी सम्मेलनमा पनि संघको सहभागिता सक्रिय रुपमा हुने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु