कांग्रेस दुधले नुहाएको पार्टी होइन, नैतिकता कुरा गर्न सुहाउँदैन: रवि लामिछाने

329
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ठाडो उजुरीको आधारमा संसद अवरुद्ध गर्ने अभ्यास राम्रो नभएको बताएका छन् । लामिछानेले आफूहरु कामले जवाफ दिने पक्षमा रहेको बताए ।

उनले नेपाली कांग्रेसले नैतिकताको कुरा गर्न नमिल्ने तर्क गरे । नेपाली कांग्रेस दूधले नुहाएको पार्टी नभएको उनको भनाइ छ ।

‘कांग्रेसले माग गरेको कुरामा मेरो सम्मान छ । हामी त्यसको जवाफ काम गरेर देखाउन चाहन्छौं,’ संसद भवनमा सञ्चारकर्मीसँग उनले भने, ‘तर, जुनरूपमा उहाँहरूले संसद अवरुद्ध गर्नुभएको छ । एउटा पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजिएको छ भने कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन नेपाली जनताले बुझेका छन् ।’

अनुसन्धानलाई प्रभावित गर्नेगरी कांग्रेसले कुर्सीका मान्छे हटाएको आरोप लगाउँदै लामिछानेले भने, ‘अनि कांग्रेसले नैतिकताको कुरा गर्ने? सुशासनका कुरा गर्ने ?’

गृहमन्त्री लामिछानेले लामो राजनीतिक इतिहास भएका कांग्रेस नेताहरूलाई आफ्नो मागमा अडिग रहन आग्रह गरे । ‘लामो राजनीतिक इतिहास बोकेका साथीहरूले ठाडो उजुरीलाई लिएर संसद अवरुद्ध गर्ने, राजीनामा माग्ने हो भने आफ्नो मागमा अडिग रहन आग्रह गर्छु । हामी कामले जवाफ दिने हो,’ उनले भने ।

लामिछानले कांग्रेसलाई चार वर्ष नै संसद अवरुद्ध गर्न सुझाव दिँदै सो अवधिमा आफूहरूको संयन्त्रले नेपालमा भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए । त्यसपछि संसदमा धेरै मानिस नहुने उनको भनाइ छ ।

Skip This