श्री एयरको विमान धनगढी विमानस्थलमा अवतरण गर्ने क्रममा पाङ्ग्रा फुस्किएको हो ?



काठमाडौं । श्री एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । सोमबार राति काठमाडौंबाट धनगढी उडान भरेको एएनएच २२७ ९ एनएएनएस उडान नम्बरको श्री एयरको जहाजमा ल्याण्ड गर्ने क्रममा अगाडिको पाङ्ग्रामा समस्या देखिएको हो ।

नोज ह्वीलको राइट साइडमा समस्या देखिएको धनगढी विमानस्थलले जनाएको छ । श्री एयरको उक्त विमान ७ बजेर ५३ मिनेटमा धनगढीमा ल्याण्ड भएको थियो ।

धनगढी विमानस्थलका प्रमुख गणेशबहादुर सिंहले कतिपयले जहाजको पाङ्ग्रा फुस्किएको भने पनि त्यसमा सत्यता नभएको दाबी गरे । ‘जहाजको पाङ्ग्रा फुस्किएको कुरा झुटो हो,’ सिंहले भने, ‘विमानको अन्तिम चेक जाँचका क्रममा समस्या देखिएको हो । नोज ह्विलको राइट साइडको चक्का समस्या देखिएको छ । प्राविधकहरुले यसलाई हेरिरहेका छन् ।’

तर, नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले भने ल्याण्ड भइसकेपछि पाङ्ग्रा खुस्किएको दाबी गरेको छ ।
‘पाङ्ग्रा खुस्किएको र स्प्रिङ लगायतले विमानलाई अड्याएर घिस्रिएको हो’ उनले भने ।

उक्त विमान राति धनगढी बस्ने तालिका थियो । विमान अवतरण भएपछि साढे ८ बजे प्राविधिकहरुले विमानको अवस्थाबारे विमानस्थललाई जानकारी दिएको सिंहले बताए । सिंहले श्री एयरले उडान भर्न नसकिने अवस्थामा विमान रहेको जानकारी दिएको बताए ।

विमानको प्राविधिक जाँच भइरहेको र त्यसको मर्मतका लागि सामान काठमाडौंबाट आउँदै गरेको उनले जानकारी दिए । ‘काठमाडौंबाट सामान आउँदैछ त्यसपछि मर्मत हुनेछ’ उनले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने सेड्युल मेन्टिनेन्स नहुँदा विमानमा यस्तो समस्या देखिएको र यसमा प्राधिकरण नेतृत्वको कमजोरी रहेको तर्क गरे ।

‘विमानहरुको नियमित चेक जाँच नहुँदा यस्तो समस्या देखिएको हो’ उनले भने, ‘विमानको पाङ्ग्रा ल्याण्ड गर्ने समयमा बिग्रिएको भए विमानमा आगलागी हुने र त्यसले ठूलो क्षति निम्त्याउने थियो ।’

नेपाललाई हवाई सुरक्षा चासोमा राखेको युरोपियन कमिसनको टोली अहिले नेपालमै छ । नेपालले हवाई सुरक्षामा काम गर्न नसकेको भन्दै ईयुले नेपाललाई कालोसूचीमा राखेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षामा अत्याधिक काम गरेको दाबी गरे पनि नियमित रुपमा हवाई सुरक्षा प्रतिकुल हुने यस्ता घटनाहरु सार्वजनिक हुँदै आएका छन् ।

‘वायुसेवा कम्पनीको नियमित अडिट प्राधिकरणले नियमित गर्न नस्कदा यस्ता घटना हुँदै आएका छन्,’ स्रोतले भन्यो, ‘केही समय अघि बुध्दको विमान र केही हेलिकप्टरमा पनि समस्या देखिएको थियो ।’

हवाइ सुरक्षा सम्बन्धी कुनै ज्ञान नभएका व्यक्तिको नेतृत्वले यस्ता विषयमा वेवास्ता गर्दा वायुसेवा कम्पनीहरुले लापरवाही गरिरहेको उनको भनाइ छ ।


क्लिकमान्डु