पुष्प मेलामा एक करोड पाँच लाख रुपैयाँको कारोबार



काठमाडौं । नेपाल फ्लोरिकल्चर एशोसिएसन(फ्यान) को आयोजनामा भएको चार दिने २५ औं संस्करण अन्तर्गतरको पुष्प मेलामा १ करोड ५ लाख ५० हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

फ्यानले भृकुटीमण्डपमा गत बिहीबारदेखि चारदिने पुष्प मेलाको आयोजना गरेको थियो । मेला आइतबार साँझ सकिएको थियो।
मेलामा बिहिबार १७ लाख ५० हजार, शुक्रबार ३० लाख ५० हजार, शनिबार ३५ लाख ७० हजार र आइतबार २१ लाख ८० हजार रुपैयाँबराबरको विभिन्न प्रकारको पुष्पको विरुवा र पुष्पजन्य सामग्रीको कारोबार भएको फ्यानका अध्यक्ष मिनबहादुर तामाङ्गले जानकारी दिए ।

मेलामा व्यावसायिक ६०, ल्याण्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र फूड एक वटा फूडसहित जम्मा ७३ वटा राख्ने व्यवस्था गरिएको थियो ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही मात्रा सयपत्रीका मालामात्रै भारतबाट ल्याउने गरिएको भन्दै अन्य समयमा प्रयोग हुने फूलमा मुलुक आत्मनिर्भर भइसकेको एसोसिएसनले जनाएको छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।

नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ ।

कात्तिकदेखि फागुनसम्म विभिन्न चार्डपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूल खेती गर्दै आएका एसोसिएसनका अध्यक्ष तामाङले जानकारी दिए ।

विशेषगरी रमाइलो र उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यो बर्ष लक्ष्यमा पुग्न सहज हुने विश्वास एसोसिएसनले लिएको छ । नेपालमा वार्षिक तीन अर्ब सात करोड रुपैयाँको फूलको कारोबार हुने गरेको छ ।


क्लिकमान्डु