विद्युतीय घरायसी सामग्री बेच्ने सीजी इम्पेक्सले एकै वर्ष गर्‍यो साढे ६ अर्बको व्यापार



काठमाडौं । एलजी ब्रान्डको आयातकर्ता तथा आधिकारिक विक्रेता सीजी इम्पेक्स प्रालिले एकै वर्ष साढे ६ अर्बको व्यापार गरेको छ । सन् २०२२ मा ७ अर्ब ८६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ६ अर्ब ५२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०१९ मा ४ अर्ब ४५ करोड १० लाख रुपैयाँ, सन् २०२० मा ४ अर्ब २० करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ६ अर्ब ४४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

बजारमा घरसायी सामग्री बिक्री वितरणमा कमी आउँदा व्यापारमा प्रभाव परेको कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार सन् २०२४ को ६ महिनाको अवधिमा गत वर्षको तुलनामा ८ प्रतिशतले व्यापार घटेको छ । तर, व्यापारमा कमी आए पनि कम्पनीको नाफा भने सकारात्मक रहेको छ ।

सीजी इम्पेक्स सीजी ब्रान्डको विद्युतीय घरायसी सामग्रीको बिक्री वितरण गर्ने स्वदेशी डिलर पनि हो । कम्पनीले एलजी र सीजी ब्रान्डसँगै ब्ल्याक एण्ड डेकर, क्रोम्प्टोम र पिजनजस्ता घरयसी सामग्री बिक्री वितरण गर्दै आएको छ ।

चौधरी ग्रुपअन्तर्गतको कम्पनीमा निर्वाण चौधरीको ८५ प्रतिशत स्वामित्व छ भने बाँकी १५ प्रतिशत वरुण चौधरीको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब २२ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब २ करोड रुपैयाँको रेटिङ गराएको छ ।

सन् २००४ देखि एलजी ब्रान्डको विद्युतीय घरायसी बिक्री वितरण आएको कम्पनीले सन् २००६ देखि नेपालमै सीजी ब्रान्डको घरायसी बिक्री वितरण सुरु गरेको थियो । जसमा कम्पनीले पिजन, ब्लयाक एण्ड डेकर रहेको छ ।

कम्पनीले सन् २०२३ मा गरेको व्यापारमध्ये एलजी ब्रान्डको ६८ प्रतिशत हिस्सा छ । बाँकी २७ प्रतिशत प्रतिशत सीजीको छ । कम्पनीको देशभर ६ सयभन्दा बढी डिलर छन् भने २४ वटा कम्पनीको आफ्नै शाखा छन् ।


क्लिकमान्डु