काठमाडौं । सांसदहरुले सुन तस्करीमा संलग्नलाई कानुनी कारबाही गर्न, सहकारीपीडितको समस्या समाधान गर्न, वैदेशिक रोजगारीमा जानेलाई निःशूल्क तालिमको व्यवस्था गर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बेठकको विशेष समयमा बोल्दै उनीहरुले सुन तस्करी, सहकारी ठगीलगायत गतिविधिलाई नियन्त्रण गर्दै सुशासन प्रवद्र्धनमा सरकार अग्रसर हुनुपर्ने माग गरे ।
सांसद राजेन्द्रकुमार केसीले सहकारीपीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सुन तस्करीका आरोपितलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । सांसद सञ्जयकुमार गौतमले सुन तस्करीका आरोपितलाई कारबाही गर्न सरकार समक्ष माग गरे ।
सांसद सूर्यबहादुर थापा क्षेत्रीले सुनको अबैध पैठारी तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गरी कार्यान्वयन गर्न सरकार समक्ष माग गरे ।
सासद रामप्रकाश चौधरीले सुन तस्करी प्रकरणमा मुछिएका सबैलाई कानुनी दायरामा ल्याइनुपर्ने बताउनुभयो । सांसद प्रेम सुवालले सुन तस्करीमा संलग्नलाई शीघ्र कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामेछानेलाई बुझाएको थियो । उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाए ।
सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क विषयगत तालिमको व्यवस्था गर्न माग गर्नुपर्ने बताए । उनले कम्तीमा छ महिना तालिम नलिएका कामदारलाई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गरिनुपर्ने धारणा राखे । सांसद आचार्यले रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सङ्घीय सरकारले प्रत्येक पालिकामा त्यस्ता कामदारलाई लक्षित गरी निःशूल्क विषयगत तालिमको व्यवस्था गर्नुपर्ने खाँचो औँल्याए ।
प्रतिक्रिया