सामाजिक सुरक्षा कोषका विषयमा व्यापक प्रचार प्रसार गर्न मन्त्री अर्यालको निर्देशन



काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले सामाजिक सुरक्षा कोषको विषयमा पनि व्यापक प्रचार प्रसार गर्न निर्देशन दिएका छन् ।

कोषमा आबद्ध भएपछि प्राप्त हुने लाभका विषयमा लक्षित वर्ग अनभिज्ञ रहेको बताउँदै सचेतना जगाउनु पर्ने उनले बताए । ‘सबै जनता शिक्षित छैनन्, सबैले पत्रिका पढ्न, टेलिभिजन हेर्न सक्दैनन्’ उनले भने ‘त्यसैले जुन माध्यमबाट सूचना दिँदा सबै जनतामा पुग्छ , त्यही माध्यमको प्रयोग गरी यसको बारेमा जनचेतना जगाउनु पर्छ ।’

शुक्रबार सामाजिक सुरक्षा कोषको काम कारबाहीका विषयमा जानकारी लिँदै मन्त्री अर्यालले यस्तो निर्देशन दिएका हुन् । कोषका कर्मचारीसँग छलफल गर्दै मन्त्री अर्यालले कम्तीमा पनि एक वर्षको कार्य योजना बनाएर काम गर्न सुझाव दिए । ‘योजनाको अवधि सकिएपछि कति उपलब्धि भयो त्यसको मूल्यांकन गरौ,’ उनले भने ।

कोषको योजना अनुसारको लक्ष्य प्राप्तिका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको समेत उनले बताए । ‘काम गर्न तपाईहरुलाई कस्ता खालका स्रोत, साधन र विज्ञता चाहिन्छ भन्नुस् । मन्त्रालयले उपलब्ध गराउँछ । तर, योजना बनाएर परिणाम आउने गरी काम गर्नुहोस्,’ उनले भने ।


क्लिकमान्डु