विश्वविद्यालयहरु खाली हुने र विद्यार्थी नपाउने अवस्था बनेकोप्रति ओली चिन्तित



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरु खाली हुने र विद्यार्थी नपाउने अवस्था बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबारको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाली युवाहरु अध्ययनको सिलसिलामा र कामका लागि बाहिर जोन प्रवृत्ति रहेको बताए ।

उनले अध्ययनको सिलसिलामा बाहिर जानेको संख्या बढ्दो रहेको बताए । उनले बाहिर अध्ययनका लागि जाने विद्यार्थीहरुमा पनि ठूलो संख्यामा पढेर फर्किने भन्दा उतै जीवन बिताउने मानसिकतामा विदेश पलायन भइरहेको बताए ।

उनले युवा पुस्तालाई कुनैपनि देश पैसा भएर धनी हुने नभइ विकास निर्माणपछि मात्रै धनी हुन्छ भन्नेकुरा बुझाउन जरुरी रहेको बताए । युवाहरुमा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास दिलाउन सक्नुपर्ने बताए ।

अध्यक्ष ओलीले सरकारको तर्फबाट पनि उद्यमशिलताको प्रवृत्ति जगाउने, उद्यमशिलताको विकास हुने, उद्यमशिलतामार्फत रोजगारीका अवसर सिर्जना गर्ने काममा लाग्नुपर्ने बताए । उनले सरकारले आधारहीन ढंगबाट रोजगारीका अवसर सिर्जना गर्न सम्भव नरहेको जिकिर गरे ।


क्लिकमान्डु