वैदेशिक रोजगारीमा जाने संख्या १३ प्रतिशतले घट्यो, आठ महिनामा ५ लाख ४० हजार विदेशिए



काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा रोजगारीको खोजी गर्दै वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । वैदेशिक रोजगार विभागको  तथ्याङ्कअनुसार गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आवको सोही अवधिमा १३ प्रतिशतले वेदेशिक रोजगारीमा जानेको संख्या घटेको हो । 

गत आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालबाट रोजगारीको खोजी गर्दै ५ लाख ४० हजार ६७५ जना विदेशमा पुगेका थिए । चालु आवको सोही अवधिमा ४ लाख ७१ हजार २१० जना विदेशिएका छन् ।

नेपालबाट चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ जना नेपाली विदेशिएका थिए । भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ जना, कात्तिकमा ४३ हजार ६२२ जना, मंसिरमा ७१ हजार २७६ जना, पुसमा ६५ हजार ८१३जना, माघमा ६२ हजार १४७ जना र फागुनमा ६५ हजार ६५८ जना विदेशिएका छन ।

फागुनमा रोजगारीको खोजी गर्दै विश्वका ९९ वटा देशमा नेपाली पुगेका छन् । सो अवधिमा ५८ हजार ८९० जना पुरुष र ६ हजार ७६८ जना महिला गरी साढे ६५ हजार नेपाली विदेशिएका हुन् । वैदेशिक रोजगारीका लागि नेपालीहरुको प्रमुख गन्तव्यर संयुक्त अरब एमिरेट्स (युएई)रहेको छ । फागुनमा मात्रै १८ हजार ७०७ जना नेपाली युवाहरु रोजगारीका लागि युएई पुगेका छन् ।

विभागअनुसार फागुनमा साउदी अरेबियामा १३ हजार २६७ जना, कतारमा ११ हजार ३९० जना,  मलेसियामा ८ हजार ४१७ जना,  कुवेतमा ३ हजार २०६ जना र बहराइनमा ९२८ जना पुगेका छन् । 

युरोप मुलुक रोमनियामा १७ सय ८४ जना,  क्रोसियामा ९१५ जना, साइप्रसमा ५७७ जना,  जापानमा १३ सय ६० जना, माल्दिभ्समा ५९० जना,  मौरिससमा ८५९ जना,  ओमनमा ५३३ जना र दक्षिण कोरियामा ७३० जना रोजगारीका लागि पुगेका छन् ।

तथ्यांक अनुसार फागुन महिनामा ४७ हजार ५७७ जना दक्ष कामदार विदेशिएको विभागको तथ्याङ्कले देखाउँछ । तथ्याङ्कमा फागुन महिनामा ८५ जना उच्च दक्ष, प्रोफेशनल ३४९ जना, अर्धदक्ष ५ हजार १६० जना र  १२ हजार ४८७ जना अर्धदक्ष कामदार विदेशिएका छन् ।


क्लिकमान्डु