सुन तस्करी प्रकरणः जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न आज साँझ मन्त्रिपरिषद्को बैठक



काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा छलफल गर्न आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । असोज १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन आज बिहान मन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

६० किलो सुन हङकङबाट र दुबईबाट भेपमा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा मुछिएका छन् ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ ।

यस्तै आयोगले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गाराज दाहाल, डिएसपी रुगम कुँवरलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

ब्यूरोले अनुसन्धानको क्रममा अनुसन्धान सकेर मुद्दा चलाउनुपर्ने मुख्य व्यक्ति जीवन चलाउनेलाई छोडेको भन्दै चारै जना प्रहरी उच्च अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

यस्तै आयोगले सरकारी वकिलको कार्यालयका उपन्यायाधीवक्ता जनकराज घिमिरे र र भन्सारका कर्मचारी वासुदेव शर्मालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । यस्तै आयोगले सहसचिव तथा अध्यागमन विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् ।


क्लिकमान्डु