सुन तस्करीमा संलग्न पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस



काठमाडौं । ६० किलो सुन हङकङबाट र दुबईबाट भेपमा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा मुछिएका छन् ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ ।

स्रोतका अनुसार महरालाई थप अनुसन्धान गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ । महरालाई आयोगले बयान समेत लिएको छ ।

महराका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन आज बिहान मन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् ।


क्लिकमान्डु