सुन तस्करीको प्रतिवेदन अध्ययनपछि प्रधानमन्त्री र प्रहरी प्रमुखसँग गृहमन्त्री लामिछानेको भेटवार्ता



काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले प्रतिवेदन बुझाएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् ।

बिहीबार बिहान आयोगले गृहमन्त्री लामिछानेलाई ४८५ पेज लामो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझेपछि त्यसको अध्ययन गरेका लामिछाने लगत्तै प्रधानमन्त्रीसँग भेटवार्ताका लागि पुगेका हुन् । प्रधानमन्त्रीसँग भेटपछि गृहमन्त्री नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसँग मन्त्रालयमा भेटवार्ता गरेका छन् ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले बिहीबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो। करिब ५ महिनाको छानबिनपछि आयोगले बनाएको प्रतिवेदन ४८५ पृष्ठ, १३ अनुच्छेद र ९ अनुसूची रहेको छ । ९ वटा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको आयोगले जनाएको छ । आयोगले केही व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिससमेत गरेको छ । विभागीय कारबाही, सीडीआर/डीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली प्रतिवेदनमा समेटिएको छ ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका थिए । दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिने बताएका गृहमन्त्री प्रतिवेदन अध्ययन लगत्तै उच्च भेटवार्तामा लागेका हुन् ।

विद्युतीय चुरोट (भेप) र मोटरसाइकलको ब्रेक सुलगायतमा लुकाएर ल्याएको सुनसम्बन्धी छानबिन गरी संलग्नमाथि कारबाही सिफारिस गर्न सरकारले असोज १४ मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानबाट उन्मुक्ति पाएकाहरुबारे आयोगले अध्ययन गरेको थियो । आयोगले सीआईबीले बयान कागज गरेर छाडेका २१ जनालाई बयान गराएको थियो । थप १४ जनासँग पनि आयोगले सोधपुछ गरेको थियो ।

प्रतिवेदनमा कतिपय उच्च राजनीतिक र प्रशासनिकसहितका नाम उल्लेख गरिएपछि लामिछानेले भेटवार्तालाई तिव्रता दिएको स्रोतको भनाइ छ ।


क्लिकमान्डु