आफूबिरुद्धको मुद्दामा चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसद खतिवडाको चेतावनी



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफूबिरुद्ध लागेका मुद्दामा चलखेल नगर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएका छन् ।

बिहीबार संसद भवन परिसरमा सञ्चरकर्मीहरुसँग कुरा गर्दै खतिवडाले राज्य व्यवस्था समितिमा छलफल गर्दा वर्तमान गृहमन्त्रीले वर्तमान परराष्ट्रमन्त्रीलाई आफूसँग अरु पनि प्रमाण भएको बताएको भन्दै आफू कारबाही गर्ने ठाउँमा हुँदा कारबाही गरेर देखाउन सक्नुपर्ने बताए । गलतलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुनेतर्फ वर्तमान गृहमन्त्री लाग्नुपर्ने उनले बताए ।

आफूबिरुद्धका मुद्दाका बारेमा आफैँले सांसदहरुलाई जानकारी गराउनुपर्ने खतिवडाले बताए । उनले दाग लागेका व्यक्तिलाई सरकारमा राख्न नहुने उनको भनाइ छ ।

‘संसदमा धेरै विषयहरु प्रवेश गरेका छन् । हामी हिजो सरकारमा हुँदा सरकारमा दाग लागेका मन्त्रीहरुलाई राख्नु हुँदैन भनेर तत्कालीन प्रमुख प्रतिपक्ष दलले भनेको थियो । अहिले त्यस्तै विषयमा सम्बन्धित भएर दाग लागेका मन्त्री र उपप्रधानमन्त्रीहरु अरु मन्त्रीहरु पनि छन् । त्यसमा प्रश्न उठ्नु स्वभाविक हो । उपप्रधानमन्त्रीजीकै बारेमा सहकारीको कुरा उठ्ला’ उनले भने ।

खतिवडाले यसो भने

अहिले सुनको कुरा पनि आएको छ । सुनको प्रतिवेदन आयोगले बुझाएको छ, त्यो प्रतिवेदन अहिले मान्य सदस्यहरुको हातमा आउनुपर्छ । त्यसमा छलफल गर्छौं । सिआईबीले छानबिन गर्दा उम्कनु नहुने मान्छेहरु उम्किए भन्ने थियो, तत्कालीन गृहसचिवको भूटानी शरणार्थी प्रकरणमा टेलिफोन हेर्ने काम गरेको थियो । तत्कालनि आइजी र एआईजीहरु पनि छन् सुन काण्डमा भन्ने आएको छ । कोको छन्, त्यो सम्पूर्ण रिपोर्ट आए की आएनन् त्यो हेर्नुपर्छ । गृहमन्त्री क्रान्तिकारी नै हुनुहुन्छ, पहिल्यैदेखि यो गर्ने र त्यो गर्ने भन्नुभएको छ । हामीले राज्य व्यवस्था समितिमा सँगै छलफल पनि गरेका छौं । उहाँ प्रतिपक्षमा हुँदा अहिलेको परराष्ट्रमन्त्री गृहमन्त्री हुँदा मसँग प्रमाण छन् अरुपनि कारबाही गर्नुपर्छ भन्नुभएको थियो । अब कारबाही गर्ने ठाउँमा उहाँ पुग्नुभएको छ । उहाँले आफ्नो मुद्दामा चलखेल नगर्ने काम गर्नुपर्छ । अरुको मुद्दामा पनि गलतलाई कारबाही गर्नुपर्छ र निर्दोषलाई फसाउने काम गर्नु हुँदैन । उहाँका बारेमा उठेका इस्युहरुमा उहाँ आफैँले सम्बोधन गरिदिए राम्रो हुन्छ ।


क्लिकमान्डु