संसदमा कांग्रेसले उठायो पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनमाथि कारबाहीको माग



दिपेश पुन

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई कारबाही गर्न माग गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको भन्दै कारबाहीको माग गरे ।

उनले पुनलाई कारबाही नगरे गणतन्त्रप्रति नै जनतामा निराशा आउने र सरकारको बिरुद्धमा जनताहरु सडकमा उत्रिने बताए । उनले देश भ्रष्टाचारी र तस्करीको नबनाउन आग्रह गरे ।

‘हामी देशमा सुशासन, समृद्धि चाहन्छौँ । हामी आम जनता र जनप्रतिनिधिमा छाएको निराशालाई आशामा परिणत गर्न चाहन्छौँ । यो देश तस्करीहरुको देश नबनोस् । यो देश भ्रष्टाचारीहरुको देश नबनोस् । यो देश गणतन्त्र र संविधानको विपक्षमा काम गर्नेहरुको देशको रुपमा परिचित नहोस् । सहकारी ठगि र सुन प्रकरणमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ । यदि यस्तो भयो भने यो देशमा आम जनताले बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको छ । त्यसप्रति निराश हुनेछन् । र वर्तमान सरकारको विरुद्धमा जनता सडकमा आउनेछ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनलेभ ने ।


क्लिकमान्डु