कोरियाले वन, सेवा र रुट इन्डष्ट्रि क्षेत्रमा थप कामदार लैजाने



काठमाडौं । दक्षिण कोरियाले वन, सेवा र रुट इन्डष्ट्रि क्षेत्रमा थप कामदार लैजाने भएको छ । इपीएस शाखाले सूचना प्रकाशित गर्दै कोरिया सरकारले थप अन्य क्षेत्रमा कामदार लैजाने विषयमा पत्र पठाएको जनाएको छ ।

सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र शिपबिल्डिङ्ग क्षेत्रबाट मात्र कामदार लैजाने गरेको कोरियाले सन् २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्रि क्षेत्र समेत थप गरी नेपालबाट कामदार लैजान लागेको इपीएस कार्यालयले जनाएको छ ।
विगत वर्षकोभन्दा सन् २०२४ मा अझ बढी संख्यामा नेपाली कामदार कोरिया लैजाने कोरियाले पत्रमा उल्लेख गरेको छ ।

कोरियन भाषा परीक्षा उत्तीर्ण भएका कामदारहरु दुई वर्षसम्म कामदारको सूचीमा बस्न पाउनेछन् । कोरियाको साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने कामदारको उचाई, तौल, लिङ्ग, उमेर, कामदारको अवस्था कोरियामा पहिलो पटक जाने कामदार र कोरिया काम गरेर फर्केका कामदार र देश जस्ता विवरण खुलाई कोरिया सरकारको सरकारी निकाय एचआरडी सर्भिस अफ कोरियाले कामदार माग गरी पठाउँछ ।

कामदार माग भएपछि एचहमरडी सर्भिस अफ कोरियाले सो मापदण्डलाई मेलखाने गरी रोष्टरमा रहेका कामदारको सूचीबाट १३ को अनुपातमा ११ जना कामदार माग भई आएको छ भने ३ जना कामदारको विवरण/फाइल साना तथा मझौला उद्योगमा पठाइन्छ ।

सो विवरणबाट उद्योगले आफूलाई चाहिने कामदार छनोट गर्दछ । यसरी रोष्टरमा रहेका कामदारहरु छनोट गर्ने प्रकृया नियमितरुपमा भइरहन्छ । सोही प्रकृया बमोजिमनै हालसम्म एकलाख भन्दा बढी नेपाली कामदारहरू कोरिया प्रवेश गरीसकेको अवस्था रहेको छ ।

रोष्टरमा रहेका कामदार छनोट कार्य रोजगारदाता मुलुक दक्षिण कोरियाको साना तथा मझौला उद्योगबाट कामदार आवश्यक परी माग भई आएपछि मात्र छनोट हुने हुँदा कुनै पनि प्रकृयामा कोही कसैको भनसुन एवं इपिएस कोरिया शाखा, एचआरडी कोरिया शाखालगायत कुनै पनि निकायको हात नरहने शाखाले जनाएको छ ।

रोजगार अनुमति प्रणालीमार्फत नेपाली कामदार कोरिया पठाउने कार्य दुई देशबीच भएको सम्झौता बमोजिम निष्पक्ष, पारदर्शी र व्यवस्थितरुपमा जीटुटी माध्यमबाट हुने हुँदा कुनै पनि तथ्यहीन, आधारहीन, भ्रामक र कपोलकल्पित हल्लाको पछाडि नलाग्न र कोही कसैलाई पनि लाग्न प्रेरित नगर्नुहुनका साथै आधिकारिक निकायबाट प्रकाशित सूचनालाई मात्र विश्वास गर्न अनुरोध गरेको छ ।


क्लिकमान्डु