कांग्रेस र एमाले मिल्नुस्, प्रचण्ड डराउँदैन: प्रधानमन्त्री



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) लाई मिल्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सके ठूला दललाई मिल्न आग्रह गरेका हुन् ।

त्यसअघि नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्मा र एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे लगायततले कांग्रेस र एमाले मिले प्रधानमन्त्री प्रचण्डको हालत के होला भनि प्रश्न गरेका थिए ।

जवाफमा दहालले सबै दल मिले माओवादी केन्द्र प्रतिपक्षमा बसेर देश र जनाको पक्षमा आवाज उठाउने बताए ।

‘ठूला दलहरू हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो । आज पनि भनियो । मेरो कामना छ तपाईंहरू मिल्नुस् । सबै मिल्नुस्,’ उनले भने, ‘ तपाईंहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा, संविधान रक्षा र राष्ट्रियताका पक्षमा लडिरहन्छ ।

उनले यसबाट आफू नडराउने दाबी गरे । ‘तपाईंहरूलाई लागेको छ प्रचण्ड डराउँछ त्यसो भनेर?,’ प्रधानमन्त्री दाहालले प्रश्न गरे।

विगतमा पनि आफूविरुद्ध सबै दल मिलेको उनको टिप्पणी थियो । त्यतिबेला सबै मिलेर ‘टाउको काट्न खोजेको’ प्रचण्डको भनाइ थियो । उनले राजनीतिक रुपमा हित हुन्छ भन्ने लागे मिल्ने बताए ।

‘डराउँछ माओवादी केन्द्र भन्ने ठान्नु भएको छ ? त्यस्तो हुँदैन । सक्नुहुन्छ मिल्नुस्,’ उनले भने, ‘तर को राजनीतिक दल कतिबेला कोसँग मिल्छ भन्ने कुरा हरेक राजनीतिक दल स्वतन्त्र छन्, आफ्नो हिसाबकिताब राख्न । राजनीतिक रूपले आफूलाई हित हुन्छ भन्ने लाग्यो भने मिल्ने हो ।’

प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोली फुकाउन पनि आग्रह गरे ।

‘यहाँ केपी ओलीजीले बोल्दै गर्दा बोली नचल्ने भाषा प्रयोग गर्नुभयो । एउटा मर्मको साथ प्रयोग गरेको बुझेँ मैले,’ दाहालले भने, ‘शेरबहादुर देउवाले अब बोल्ने हो भन्नुभयो । बोल्नुस् । म भन्छु बोली फुकाउनुस् । बनाउनुस् सहकार्य । माओवादी केन्द्र, प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दबाबमा पर्छ भन्ने भ्रम नराख्नुस् ।’


क्लिकमान्डु