रविमाथि प्रश्न उठाएपछि कांग्रेसलाई प्रचण्डको जबाफ: तपाईंहरु त प्रधानमन्त्री नै बनाउन हिँड्नुभाथ्यो त !



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको कांग्रेसको टिप्पणीको जवाफ फर्काएका छन् ।

बुधबार विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपाली कांग्रेसले दुई खालको चरित्र देखाएको आरोप लगाए ।

प्रश्न उठेकालाई मन्त्री बनाउने भन्दै संसदमा कांग्रेसले प्रश्न गरेपछि प्रधानमन्त्रीले जवाफ दिएका हुन् । आफू एमाले रास्वपा लगायतका दलसँग गठबन्धनमा गएपछि कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको प्रचण्डको भनाइ थियो ।

‘यहाँ पनि प्रश्न उठ्यो– प्रश्न उठेकालाई मन्त्री बनाउने के हो यो भनेर । मलाई त थाहा छ नि त्यो कुरा, प्रधानमन्त्री बनाउन हिँडिराखेको कुरा पनि देखिराखिएकै छ । यति धेरै डबल स्ट्यान्डर्डको कुरा गर्ने,’ उनले भने, ‘आफूतिर आउँछ भने प्रधानमन्त्री बनाउने ! आउँदैन भने भ्रष्टाचारी, यो मुद्दामा परेको, कारबाही गर्नुपर्छ ! डबल स्ट्यान्टर्डले चल्छ !’

त्यस्तै कांग्रेस सांसद विश्वप्रकाश शर्माले एमाले कांग्रेस मिले भने प्रधानमन्त्रीको हैसियत के होला भन्दै गरेको प्रश्नको पनि उनले जवाफ दिएका छन् । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस र नेकपा (एमाले) ले मिले आफू प्रतिपक्षमा बस्ने बताए ।
देश बनाउन सबै दल मिले आफू खुसी हुने भन्दै उनले आफू प्रतिपक्षमा बस्न तयार रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो हितअनुकूल हुने गरी गठबन्धन गर्न दलहरू स्वतन्त्र रहेको बताए ।


क्लिकमान्डु