प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न: एमाले र कांग्रेसको कुरा चल्न थाल्यो भने प्रचण्डको यात्रा कता होला ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र एमाले मिले प्रधानमन्त्रीको हालत के होला ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको विपक्षमा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र कांग्रेसलाई पालैपालो धोका दिएकाले उनीहरु मिलेर अघि बढे भने प्रधानमन्त्री दाहालको अवस्था के हुन्छ भन्ने कुरा सबैले बुझेको बताए ।

एमाले अध्यक्ष केपी ओली र पार्टी सभापति शेरबहादुर देउवाबीचको सहयात्रा सुरु हुनसक्ने सम्भावना औंल्याउँदै त्यसको हेक्का राख्न उनले प्रधानमन्त्री दाहाललाई सचेत गराए । महामन्त्री शर्माले प्रधानमन्त्रीबाट धोका पाएकाहरुबीच एक होऔं भन्ने नारा लाग्न सक्ने दाबी गरे ।

‘पोहोर एमाले विपक्षमा रह्यो । अहिले कांग्रेस विपक्षमा रहेको छ । पक्षको मात्रै जोड्दैगर्दा पालैपालो विपक्षमा रहेका हिसास जोड्दै गर्दा क्लियर हुँदैन र हिसाब ? पालैपालो विपक्षमा उभिएकाहरु एउटै पक्षमा उभिए भने नि ! धोका खाएकाहरु एक हौं भनेर नारा लाग्यो भने नि ! तब राजनेताको गद्दीको हालत के होला ? सम्माननीय प्रधानमन्त्रीज्यू,’ शर्माले भने,’यहाँले अघि कांग्रेसको कसैले राजनेता भनेको उद्धृत गर्न खोज्नुभएको छ । कुरा नचल्ने भन्नुभयो पूर्वप्रधानमन्त्रीजीले । तलबाट हाम्रा सभापतिले इशारा गरेर कुरा चल्ने हो भन्नुभयो । कुरा नचल्नेहरुको कुरा चल्न सुरु भयो भने यहाँको यात्रा चाहीँ कतातिर चल्छ होला ? ’

महामन्त्री शर्माले आफूमाथिको विश्वासको मत घट्दै गएको ख्याल गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।


क्लिकमान्डु