पुँजीबजारमा आएको सकारात्मक परिवर्तन सरकारप्रति जनअनुमोदन: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुने बताएका छन् ।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै सरकार गठनमा सहभागी दलहरूबीच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको जानकारी दिए ।

‘न्यूनतम साझा कार्यक्रम सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुनेछन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राजस्वको लक्ष्य पूरा गर्न, पूँजीगत खर्च बढाउन र बेरुजु घटाउन सरकारले नयाँ कार्यक्रमहरू ल्याउनेछ ।’

सरकार पुनर्गठनसँगै पूँजीबजारमा आएको सकारात्मक परिवर्तनलाई मैले सरकारप्रति जनअनुमोदन र समर्थनका रुपमा बुझेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोमबार मात्रै मिटरब्याज पीडितहरूसँग चार बुँदे सहमति भएको जानकारी गराए ।

उहाँले वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट रहेको स्पष्ट पारे ।

‘रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन् । पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक सङ्ख्या कम्तिमा दोब्बर बनाउने लक्ष्य लिइनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘वैदेशिक रोजगारीमा जानेलाई बैंकको ऋणको व्यवस्था गरिनेछ र स्वदेश फर्केकालाई पनि सीपअनुसारको व्यवसायका लागि सुलभ ऋणको ग्यारेन्टी गरिनेछ ।’

सङ्घीयता कार्यान्वयन, राष्ट्रियहितको रक्षा गर्ने स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन सरकारको प्रतिवद्धता रहेको बताउँदै प्रधानमन्त्रीले शान्ति प्रक्रियाको निरुपण सरकारको प्राथमिकता हुने स्पष्ट पारे ।

‘सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिकमैत्री हुनेछ । राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिनेछ,’ उनले भने, ‘अहिले सु्न्दा अविश्वसनीय लाग्ला तर निजी क्षेत्रसमेतको सहभागितामा हजारौं उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिनेछ ।’


क्लिकमान्डु