चैत १ गतेदेखि भृकुटीमण्डपमा पुष्प मेला



काठमाडौं । बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा २५ औं फ्लोरा एक्पो हुने भएको छ।

‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ हुन लागेको उक्त मेला आगामी चैत ४ गतेसम्म चल्नेछ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान) को आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा पुष्प मेलाको आयोजना गरिएको हो । मेलाको उदघाट्न नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले गर्ने तय भएको फ्यानको अध्यक्ष मिनवहादुर तामांगले जानकारी दिएका छन् ।

मेलामा प्रवेश गर्नका लागि सर्वसाधारणको हकमा १५० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजक पक्षले जनाएको छ ।

फ्लोरा एक्स्पोमा व्यावसायिक स्टल ६०, ल्याण्डस्केपिङ्ग स्टल ३, अफिसियल स्टल ८, प्रतियोगितात्मक प्रदर्शनीका लागि एउटा स्टल रहनेछ । त्यस्तै एउटा फुड स्टलसहित जम्मा ७३ वटा स्टल रहने एसोसिएसनका उपाध्यक्ष तथा मेलाका संयोजक सिताराम पन्तले जानकारी दिएका छन् ।

फ्लोरा एक्स्पोमा ५० हजार जनाले अवलोकन गर्ने र करिब एक करोडको व्यावसायिक कारोबार हुने आयोजक पक्षको अपेक्षा छ ।


क्लिकमान्डु