पूर्वअर्थमन्त्री महतको प्रष्टीकरणः नयाँ स्टक रोक्न मेरो होइन, प्रधानमन्त्रीको भूमिका छ



काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्कालीन समयमा नयाँ स्टकलाई लाइसेन्स दिन रोक्न आफ्नो भूमिका नरहेको दाबी गरेका छन् ।

मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री महतले नयाँ स्टकलाई लाइसेन्स दिन रोक्न आफ्नो भूमिका नरहेको र सबै काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने अनुसार नै भएको बताए । तत्कालीन समयमा प्रधानमन्त्री र मन्त्रिपरिषदले गरेको निर्णयलाई अहिले आफूमाथि थोपर्न नमिल्ने उनको भनाइ छ ।

‘तत्कालीन समयमा प्रधानमन्त्रीले नै नयाँ स्टकलाई अहिललाई लाइसेन्स दिन रोक्नु भएको हो’ उनले भने, ‘ स्टकले थप निजी क्षेत्रलाई जोडने भन्ने कुरालाई थप अध्ययन गरेपछि मात्रै निर्णय गर्ने भनेर उहाँले त्यो बेला रोक्नु भएको हो ।’

नयाँ स्टकलाई लाईसेन्स दिने विषयलाई तत्कालिन समयमा अर्थसमितिले रोकेर राखेको र अर्थ समितिले पनि खोलेपछि चर्चामा आएको उनको भनाइ छ ।

‘समितिले पनि खोलेपछि यो खोल्ने प्रस्ताव अर्थ मन्त्रालयले नै ल्याईदेओस भन्ने उहाँको भनाइ थियो’ उनले भने ‘हाम्रो भनाइ अर्थले रोक्ने नरोक्ने भनेको थिएन । मन्त्रिपरिषदले रोक्ने निर्णय गरेको हुनाले मन्त्रिपरिषदले खोल्नु पर्छ भन्नु गलत हो । जहाँबाट रोकिएको हो त्यहाँबाट खोल्ने÷नखोल्ने, थप अध्ययन गर्ने, नगर्ने त्यसको निर्णय मन्त्रिपरिषदले भन्नुपर्यो । त्यो समयमा धितोपत्र बोर्डले चिठी लेखेको र त्यसका लागि मन्त्रालय माध्यम मात्रै बनेको बताए ।

‘सेबोनबाट आएको चिठीसँगै हामीले अध्ययन गरिसकेको छौ । खोल्ने नखोल्ने के हो सरकारले नै गरोस भनेको हो । त्यसपछि अर्थलाई नै अध्ययन समिति बनाउनु भनेर अर्थबाट प्रस्ताव ल्याउनु पर्यो भनेर पत्र आयो । हामीले त्यही खालको कमिटि बनायौं । त्यसले अध्ययन गरिरहेको होला । त्यसपछि के गर्ने भनेर मन्त्रिपरिषदले नै निर्णय गर्छ । त्यो निर्णय उल्ट्याउने, मान्ने नमान्ने उहाँहरुको कुरा हो ।’


क्लिकमान्डु