सरकारी खातामा २ खर्ब थुप्रदा विकास निमार्णमा खर्च किन कम भो ?



काठमाडौं । सरकारी खातामा २ खर्ब १५ अर्ब रुपैयाँ थुप्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ७ महिनाको तथ्यांक अनुसार सरकारको विभिन्न खातामा २ खर्ब १५ अर्ब रुपैयाँ ६२ करोड रुपैयाँ सञ्चिति छ ।

प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसेमत गरेर सरकारी खातामा उक्त नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ मात्रै थियो ।

समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च ५१ अर्ब ७४ करोड र स्रोत परिचालन १ खर्ब ०१ अर्ब २९ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ७१ अर्ब ६३ करोड रुपैयाँ र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २९ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

सरकारसँग खातामा २ खर्ब जम्मा भएको भए पनि सरकारले निर्माण व्यवसायीको भुक्तानी रोक्दा विकास निर्माणको खर्च भने कम देखिएको छ ।

निर्माण व्यवसायीले काम गरेकै ४० अर्ब रुपैयाँ भुक्तानी दाबी गरिरहेका छन् । सरकारले खर्च बढाउन नसक्दा हालसम्म विकास निर्माणमा भएको खर्च ७६ अर्ब रुपैयाँ मात्रै छ । यो भनेको चालु आर्थिक वर्ष २०८०/८१ को २५ फागुनसम्मको खर्च २५ प्रतिशत मात्रै हो ।


क्लिकमान्डु