द्विपक्षीय व्यापार विस्तारबारे उद्योग संगठन मोरङ र बंगलादेशका राजदूतबीच छलफल



विराटनगर । उद्योग संगठन मोरङले बंगलादेश र नेपालबीच हुन सक्ने व्यवसायिक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवर्धन र विकासका साथै पर्यटन लगायतका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका विषयमा नेपालका लागि बंगलादेशका राजदूत सलाहउद्दिन नोमन चौधरीसँग छलफल गरेको छ ।

संगठनको सचिवालयमा भएको छलफलमा अध्यक्ष राकेश सुरानाले नेपाल र बंगलादेश बीचको व्यापारिक सम्वन्ध अभिवृद्धिका लागि नेपाली उत्पादनले बंगलादेश निर्यातमा भोग्दै आएको समस्या अवगत गराउदै समाधानका लागि सहजीकरण गर्न राजदूत समक्ष आग्रह गरे ।

बंगलादेशस्थित व्यावसायिक संस्था तथा औद्योगिक पक्षहरुसँग संस्थागत सम्वन्ध विस्तारमा जोड दिँदै उनले संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय ब्यापार प्रवद्र्धन र्‍यालीका साथै नेपाल र बंगलादेशका उद्योगीहरु बिच सम्बन्ध बिस्तारका लागी आवश्यक सहजीकरण गर्न समेत अनुरोध गरे ।

उक्त अवसरमा बंगलादेशका राजदुत सलाहउद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशका बिच धेरै क्षेत्रहरुमा सहकार्यको प्रचुर सम्भावना रहेकोले दुई मुलकका औद्योगिक तथा व्यवसायीहरु बिचको सम्वन्ध विस्तारका लागि दुताबास निरन्तर सहजिकरण गर्न तत्पर रहेको बताए । उनले निर्यातमा देखिएका समस्या समाधान लागि आफनो तर्फबाट पहल र प्रयास रहने स्पष्ट पारे ।

राजदुत चौधरीले दिपक्षीय व्यापारिक हितका लागि संगठनले अन्तर्राष्ट्रिय स्तरको र्‍याली आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै बंगलादेश दुतावासको तर्फबाट आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता व्यत्त गरे ।

कार्यक्रममा उद्योग संगठन मोरङको पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र नेपालका लागि बंगलादेश दुतावासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


क्लिकमान्डु