नेपाल-भारत आर्थिक साझेदारी सम्मेलन सम्पन्न



काठमाडौं । नेपाल-भारत आर्थिक साझेदारी सम्मेलन भैरहवामा सम्पन्न भएको छ ।

भारतको नयाँदिल्लीस्थित पिएचडी चेम्वर अफ कमर्सको भारत नेपाल च्याप्टरले विभिन्न संस्थाहरुको सहकार्यमा उक्त सम्मेलन आयोजना गरेको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै नेपाल–भारत उद्योग वाणिज्य संघका महासचिव रमेश शर्माले नेपाल–भारतबीच आर्थिक सम्बन्ध बिस्तार गर्नका लागि द्विपक्षीय आयात–निर्यात ब्यापार, बिदेशी भुक्तानी सन्तुलन, रेमिट्यान्स लगायतका बिषयमा भरपर्दो बलियो प्लेटफर्म निर्माण गर्नुपर्ने जानकारी दिए ।

‘हामीलाई दक्षिण एशियामा उप क्षेत्रीय आर्थिक सहयोगको मुख्य शक्तिको रुपमा स्थापित गर्ने अवसर पनि रहेको र यसमा दुई देशवीच सहकार्य र तालमेलको आवश्यकता पनि त्यतिकै छ,’ शर्माले बताए ।

नेपाल–भारत आर्थिक सम्बन्धमा पछिल्लो समयमा सरकारले नयाँ व्यवस्था गरेको छ । जसअनुसार नेपाल सरकारले जारी गरेको परिचयपत्रको आधारमा भारतमा रहेका नेपाली नागरिकले बैंकमा खाता खोल्न पाउने सुविधा पाएका छन् ।

भारतमा रहेका नेपालीहरुले औपचारिक रुपमा बैंकिङ्ग प्रणाली मार्फत नेपालमा पैसा पठाउन सकिने व्यवस्था भएको छ । नेशनल पेमेण्ट इन्टरफेस नेपाल र युनिफाईड पेमेन्ट इन्टरफेस भारतबीच सरकारी स्तरमा भएको द्विपक्षीय सम्झौता मार्फत डिजिटल भुक्तानी प्रणालीमा आएको सफलताले बिद्युतीय भुक्तानीबाट हुने कारोवारलाई हेर्ने संयुक्त संयन्त्र स्थापना गर्ने सहमति भएको शर्माले जानकारी दिए ।

यस्तै भारत सरकारले भारतीय नदीहरुमा बिकास गरेको जलमार्गहरुको प्रयोग गर्ने सुबिधा तथा ३० बर्ष पहिले बनेको ब्यापार तथा पारवहन सम्बन्धी सन्धी तथा यसका क्षेत्रमा बिचाराधीन रहेको बिषयहरुमा दुई देशका बिभिन्न उच्च स्तरीय सरकारी बैठकहरु मार्फत सम्पन्न भएका बिभिन्न लेटर अफ एक्सचेन्जहरु लाई ब्यबहारिक बनाएर लागू गर्न गर्ने बिषयमा पनि उक्त सम्मेलनको क्रममा छलफल भएको थियो ।


क्लिकमान्डु