फर्मा एक्स्पोले चितवनको बजारमा चलायमान



चितवन । नेपाल औषधि व्यवसायी सङ्घले चितवनमा आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ ले बजार चलायमान बनाएको छ । स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ताले यहाँको पर्यटनसँगै आर्थिक चलायमान बनाएको हो ।

संघका अध्यक्ष महेश प्रधानले एक्स्पोका लागि भरतपुरमा तीन हजार हाराहारी आयोजक र प्रदर्शक बाहिरी जिल्ला र विदेशबाट आएको बताए । उनका अनुसार नेपालका सबै औषधि उद्योग, तिनका बजार प्रतिनिधिलगायत भरतपुरमा आएका छन् । यसैरी नौ देशका प्रदर्शक र कतिपय देशका अवलोकनकर्ता समेत यहाँ आएका छन् ।

संघका उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालका अनुसार एक्स्पोका कारण दुई हजार हाराहारी होटलका कोठा बुक भएका छन् । होटलमा मात्रै तीन हजारभन्दा बढीले ६ करोड रुपैयाँ हाराहारी खर्च गर्ने उनको भनाइ छ । “एक्स्पोमा आउनेले एक्स्पो मात्रै हेर्दैन, यहाँका पर्यटकीय ठाउँको पनि भ्रमण गरेका छन्, खानपान र रमाइलोमा पनि खर्च भएको छ,” उनले भने ।

एक्स्पो सम्पन्न गर्न ३ करोड रुपैयाँ हाराहारी खर्च हुने बरालको अनुमान छ । यसका अतिरिक्त प्रदर्शकले आफ्नो स्टल साजसज्जालगायत अस्थायी कामका लागि पनि २ करोड रुपैयाँ हाराहारी खर्च गरेको उनको अनुमान छ ।

संघका वरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटा एक्स्पोले चितवनको पर्यटन क्षेत्रमा राम्रो प्रभाव पारेको बताउँटज् । “एक्स्पोको अवधिमा चितवनमा कोठा पाउनै मुस्किल थियो,” उनले भने ।

चितवन आएका आयोजक, प्रदर्शक र अवलोकनकर्ताले चितवनका पर्यटकीय ठाउँकोसमेत अवलोकन गरेको भन्दै भरतपुर भ्रमण वर्षलाई यसले ठूलो सहयोग पुगेको रुङ्गटाको भनाइ छ ।

यही फागुन २५ गतेदेखि सञ्चालन भइ आइतबार समापन हुने एक्स्पोमा एक सय ६० वटा स्टल राखिएका छन् ।

नेपाल, भारत, सिङ्गापुर, बङ्गलादेश, अमेरिका, जर्मन, चीनलगायत नौ देशले औषधि उत्पादनमा प्रयोग गर्ने मेसिन–उपकरण, प्रयोगशाला, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएका छन् । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइएको छ ।


क्लिकमान्डु