एमभी दुगडको विवेक अटोमोबाइलको व्यापार ६७ प्रतिशतले घट्यो



काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याका कारण बजारमा सवारी साधन तथा सवारी साधनको पार्टपूर्जाको बिक्रीमा कमी आउँदा विवेक अटोमोबाइलको व्यापार ६७ प्रतिशतले घटेको छ ।

एमभी दुगड ग्रुपद्वारा सञ्चालित विवेक अटोमोबाइलको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ६७ प्रतिशतले घटेको हो।

कम्पनीले सन् २०२१ मा ६ अर्ब ५७ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२२ मा ५ अर्ब १२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ७० करोड १० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ ।

कम्पनी जोन धिरे ब्रान्डको ट्र्याक्टर तथा पार्टपूर्जाको आधिकारिक विक्रेता हो । त्यस्तै, कम्पनी गेसिट्स ब्रान्डको स्कुटर तथा मोटरसाइकल र पार्टपूर्जाको आधिकारिक बितरक पनि हो । साथै, कम्पनी व्यवसायिक सवारी साधन महिन्द्रा एण्ड महिन्द्राको वितरक हो ।

विवेक दुगड अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८० करोड ६६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५८ करोड ६६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब २२ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीअनुसार हालै मात्रै दुई पाङ्ग्रे सवारी साधन रोयल इन्फिल्ड र पियाजियो ब्रान्डको तीन पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरणका लागि सम्झौताको अन्त्यका कारण पनि कुल बिक्रीको मात्रा घटेको उल्लेख छ । साथै, जोन धिरे ट्र्याक्टर सेग्मेन्टको बिक्रीमा पनि कमी आउँदा व्यापारमा उच्च गिरावट आएको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु