होन्डाको एसेम्बल प्लान्ट उद्घाटन हुँदै, वार्षिक १ लाख सवारी साधन उत्पादन गर्ने



काठमाडौं । होन्डाको नेपालको लागि आधिकारिक विक्रेता स्याकर ट्रेडिङ कम्पनी प्रालिले स्वदेशमै एसेम्बल गर्ने गरी उद्योग सञ्चालनमा ल्याउने भएको छ ।

कम्पनीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा–४ मा रहेको एसेम्बल प्लान्टको औपचारिकरुपमा बुधबार उद्घाटन गर्दै सञ्चालनमा ल्याउने भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको सुरुमै एसेम्बल प्लान्टमार्फत् मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने भन्दै लगानी प्रतिबद्धता जनाएको थियो ।

उद्योग विभागको तथ्याङ्कअनुसार कम्पनीले हिमाल मोटो नेपाल प्रालि उद्योगमार्फत् मोटरसाइकल र स्कुटर उत्पादन गर्ने जनाएको छ ।

विभागमा कम्पनीले ६० करोड रुपैयाँ लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको थियो । जसमा कम्पनीले वार्षिक २५ हजार मोटरसाइकल र ७५ हजार वटा स्कुटर गरी एक लाख सवारी साधन उत्पादन गर्ने उल्लेख गरेको छ । उक्त उद्योगबाट २०२ जनाले रोजगारी पाउने कम्पनीले जनाएको छ ।

उद्योगमा शतप्रतिशत स्वदेशी लगानी हुने भनिएको छ ।

पछिल्लो समय विभिन्न कम्पनीहरुले स्वदेशमै मोटरसाइकल र स्कुटर उत्पादन गर्ने गरी एसेम्बल प्लान्ट उद्योग निर्माण गर्न लगानी गरिरहेका छन् । नेपालमा प्रख्यात ब्रान्ड बजाज, टीभीएस, यामाहा र रोयल इन्फिल्डले स्वदेशमै एसेम्बल प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

सरकारले नेपाल एसेम्बल प्लान्ट विस्तार गर्न अन्तःशुल्कमा सहुलियत दिएको छ । उक्त व्यवस्थाले गर्दा स्वदेशमै मोटरसाइकल र स्कुटर उत्पादन गर्न एसेम्बल उद्योग निर्माण गर्न तीब्र कार्य अगाडि बढाएको देखिन्छ । सरकारले गत वर्षदेखि एसेम्बल प्लान्टका लागि छुट र विशेष व्यवस्थाको सुविधा दिएको थियो ।

सरकारले एसेम्बल प्लान्टले आर्जन गरेको मुनाफामा ५ वर्षसम्म ४० प्रतिशतले सुहुलियत पाउनेछ । साथै, ५० वर्षसम्मका लागि जग्गा भाडामा पाउने उद्योगले १० करोड रुपैयाँसम्मको विद्युत खपतमा छुटसमेत पाउनेछन् । उक्त व्यवस्थाले एसेम्बल उद्योगीहरुलाई सहज बनाएको छ ।


क्लिकमान्डु