‘हिट’ ब्रान्डको इनर्जी ड्रिंक बेच्ने कम्पनीको व्यापार २२ प्रतिशतले बढ्यो



काठमाडौं । ‘हिट’ ब्रान्डको इनर्जी ड्रिंक बेच्ने सिंगापुर बेभरेज नेपाल प्रालिको व्यापार २२ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा २२ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२२ मा ५० करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा ६१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ४३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

झापामा रहेको उद्योगले विभिन्न ब्रान्डको जुस र इनर्जी ड्रिंक बिक्री वितरण गर्दै आएको छ । कम्पनीले जोइनर, फ्रुट जेम्स, जिरु र निम्बुपानी उत्पादन गर्दै आएको छ ।

रामकृष्ण शर्मा (रमेश शर्मा) र डा.आशिश शर्माको स्वामित्व रहेको कम्पनीले ६० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३९ करोड ९६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २० करोड ४ लाख रुपैयाँको रेटिङ गराएको छ ।

त्यस्तै, कम्पनीले सन् २०२३ मा २ प्रतिशत खुद नाफा कमाएको छ । कम्पनीले सन् २०२२ देखि निर्यात गर्न सुरु गरेको थियो । जसमा कम्पनीले सन् २०२२ मा व्यापार गरेकोमा निर्यातको हिस्सा १ प्रतिशत थियो । त्यस्तै, सन् २०२३ मा निर्यात हिस्सा १.३९ प्रतिशत थियो भने सन् २०२४ मा बढेर २.२० प्रतिशत पुगेको छ । कम्पनीले उत्पादन गरेको वस्तु बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत र इटलीमा निर्यात गर्दै आएको छ । साथै, कम्पनीले हालै मात्रै जापानमा निर्यातका लागि लाइसेन्स पाएको छ ।

कम्पनीले विभिन्न प्रकारका जुस ७० वटाभन्दा बढी भेराइटी र प्याकेजमा निर्यात गर्न गरी अनुमति लिएको छ।
कम्पनीले क्यानमा प्याकेजिङ गरेर हिट ब्रान्डको इनर्जी ड्रिङ्क २५० एमएल र ३२० एमएलमा बिक्री वितरण गर्दै आएको छ । साथै, आगामी दिनमा अन्य नयाँ प्रोडक्ट उत्पादन गर्ने योजना बनाएको छ ।
कम्पनलिे व्यापार गरेकोमध्ये ४९ प्रतिशत हिस्सा कच्च पदार्थको छ । कम्पनीअनुसार चिनी, फ्रुट पल्प, फ्लेबर, प्याकिङ वस्तु र अन्य विभिन्न वस्तुको मूल्य घटबढ हुँदा नाफामा असर पुगेको उल्लेख छ ।


क्लिकमान्डु