न्यू वैदही खाद्य उद्योगले एकै वर्ष गर्‍यो साढे १ अर्बको व्यापार



काठमाडौं । न्यू वैदेही खाद्य उद्योगले एकै वर्ष साढे १ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ३५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा ९६ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा ५४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २००९ बाट सञ्चालनमा आएको कम्पनीले धान प्रशोधन गरी चामलको व्यापार गर्दै आएको छ ।

कम्पनीले विभिन्न ठाउँबाट धान आयात गरी चामल प्रशोधन, ग्रान्डिङ र पोलिसिङ गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । वार्षिक २ लाख ३० हजार ४ सय मेट्रिक टन धान प्रशोधन गर्ने क्षमता रहेको कम्पनीको व्यापार सन् २०१९ देखि २०२३ सम्ममा ४२.१५ प्रतिशतले बढेको छ ।

कम्पनीले सन् २०२१ देखि थप क्षमता विस्तार गरेको थियो । कम्पनीले ३८ हजार ४ सय मेट्रिक टन उत्पादन क्षमताबाट बढाएर २ लाख ३० हजार ४ सय पुर्‍याएको हो ।

कम्पनीको क्षमता थप विस्तार गरेसँगै व्यापार वार्षिक ४० प्रतिशतले बढेको केयर रेटिङमा उल्लेख छ । त्यस्तै, कम्पनीले सन् २०२४ को ६ महिनाको अवधिमा ५८ करोड रुपैयाँको व्यापार गरिसकेको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ करोड ८१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७१ करोड १९ लाख रुपैयाँको रेटिङ गरेको छ । कम्पनीले चामल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आन्तरिक तथा भारतबाट आयात गर्दै आएको छ । जसमा कम्पनीले ७६ प्रतिशत स्वदेशी र २४ प्रतिशत कच्चा पदार्थ (धान) आयात गर्ने गरेको छ ।

जवेन्द्र साहको लगानी रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु