युवा अर्थशास्त्री मनोज अर्थात् उद्यमीका सारथी



काठमाडौं । विज्ञ वा शास्त्री भन्ने वित्तिकै सेतो वा तिलचामले कपाल, ठूला चस्मा र चाउरिन खोज्दै गरेका अधबैँसे अनुहाररुपी आकृति मानसपटलमा आउने गर्छ । हुन पनि हामीले देख्ने विज्ञहरु यस्तै रुपमा भेटिन्छन् । वर्षौंको अध्ययन अुनसन्धानले निखारेपछि शास्त्रीको परिचय पाउने होडमा अब भने यस्ता अनुहारमात्रै सीमित छैनन् ।

चट्ट परेको कोट र पाइन्टमा भर्खरै उदाउँदै गरेका फुर्तिला र नयाँ उत्साहको साथ कलिलै उमेरमा अर्थशास्त्रीको नयाँ अनुहार देखिन थालेको छ । नीतिगत तहसम्म दख्खल राख्न सक्ने अर्थशास्त्री जो नयाँ जोस र नयाँ जाँगरका साथ अनुसन्धानमा मात्रै सीमित छैनन् आफैं पनि नविन उद्यमको सुरुवात गर्दै व्यवसायीक वातावरण बनाउन तल्लिन छन् । यस्तै नवअर्थशास्त्री हुन् ३३ वर्षे मनोज पौडेल ।

मनोज अर्थशास्त्री मात्रै होइनन्, व्यवसायी पनि हुन् । अझ भनौं उनी व्यवसायीका सारथी पनि हुन् । आध्यान्त फण्ड म्यानेजमेन्टको कार्यालयमा भेटिएका उनले हामीलाई अर्थशास्त्री र व्यवसायीभन्दा पनि व्यवसायीको सारथी भन्न पटकपटक आग्रह गरे ।

‘तपाईं मलाई व्यवसायीको साथी नै भन्नुस्,’ पौडेलले क्लिकमान्डुसँग भने, ‘अर्थशास्त्रीकारुपमा पनि काम गरिरहेको छु तर आध्यान्तमार्फत व्यवसायीक यात्रामा पनि अघि बढिसकेको छु यसकारण मलाई दुबै भन्न मिल्यो ।’

पौडेल लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्सबाट इकोनोमिक्स डेभलपमेन्ट विषयमा स्नातकोत्तर हुन् । उनले नेपालमा ग्रामिण विकास अन्तर्गतका विभिन्न परियोजनाहरुमा काम गरिसकेका छन् भने २०१८ मा पढाई सकेपछि लगानी बोर्डमा २ वर्ष अनुसन्धान अर्थशास्त्रीकारुपमा काम गरिसकेका छन् ।

अर्थतन्त्र र राज्यव्यवस्थाका बारेमा मिहिन अध्ययन गर्न रुचाउने पौडेल पछिल्लो समय नेपालमा व्यवसायिक वातावारण व्यवसाय गरेरै र्सिजना गर्न तल्लिन छन् । उनले सन २०२१ मा आध्यान्त फण्ड म्यानेजमेन्ट कम्पनी लिमिटेड सञ्चालनमा ल्याएका हुन् ।

अनुसन्धानले जुरायो व्यवसाय

सन् २०१८ मा स्नातकोत्तर सकेर नेपाल फर्किंदा पौडेल अर्थतन्त्रसँग सम्बन्धित क्षेत्रमा अनुसन्धानात्मक काम गर्न चाहन्थे । आफूले पढेको अर्थराजनीतिलाई व्यवहारिकरुपमा नेपालमा बुझ्नु थियो उनलाई ।

यसअघि गरेका दायित्वजस्ता साना प्रोजेक्टहरुले नेपालप्रतिको लगाबसँगै यहाँको अवसरले पनि लोभ्याएको थियो उनलाई ।

‘नेपालको प्रेमले ओतप्रोत भएर म फर्किएको हुँदै होइन,’ उनी ठट्यौलीमा पारामा हामीलाई देश फर्कनुको कारण बताउँछन्- ‘यदि नेपालमा भन्दा बढी अरु देशमा अवसर देखेको थिएँ भने म त्यतै जान सक्थें, म अवसर देखेर नेपाल आएको हो ।’

हुन त देशको माया सबैमा हुन्छ नै तर त्यो भन्दा माथि उठेर उनले नेपालमा अर्थशास्त्री बन्ने सपना सजाएका थिए ।

सन् २००८ विश्वव्यापी आर्थिक मन्दीपछि बेलायतले गरेका सुधारात्मक कदमहरुलाई नियालेका उनले त्यहाँ नवीनत उद्यमले समग्र देशको अर्थतन्त्रलाई कसरी सुर्धान सक्छ भन्ने अनुभव पनि गर्न पाए ।

‘विश्व बजारमा इनोभेसन कसरी आउँछ र सञ्चालन हुन्छ भन्ने कुरा सन २००८ को फाइनान्सियल क्राइसिस पछिको परिस्थितिले पनि सिकायो, बेलायतमा त्यसपछि उदाएको इनोभेसनले अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको थियो’ उनी भन्छन् । यो समयमा पौडेलले प्राइभेट इक्विटी, क्यापिटल भेन्चर कसरी सञ्चालन हुन्छ ? र, यसले उद्यमशिलतालाई कसरी सहयोग गर्छ भन्ने कुरा पढ्न मात्र पाएनन् अनुभव गर्न पनि पाए ।

नेपालमा त्यसताका यस्ता कम्पनी खोलिएका थिएनन् । लगानीकर्ता र उद्यमीको बीचमा बसेर पनि व्यवसायिक वातावरण तयार गर्न सकिन्छ भन्ने भाष्य नेपाली समाजमा देखिँदैन थियो ।

उनी २०१८ को जनवरीमा नेपाल फर्किएर दुई महिना दायित्व प्रोजेक्टमा काम गरे । २०१८ को मार्च महिनामा लगानी बोर्डले अनुसन्धान अर्थशास्त्री माग्दा उनी बोर्डमा छनौट भए । लगानी बोर्डमा काम गर्दैगर्दा उनी प्राइम कमर्सियल बैंकको सञ्चालकमा चुनिए । पौडेल २८ वर्षको उमेरमै वाणिज्य बैंकको सञ्चालक बनेका थिए । कान्छो उमेरमै वाणिज्य बैंकको सञ्चालक हुने भाग्यमानी केहीमध्येमा पर्छन् उनी ।

वैदेशिक लगानी सम्बन्धी लगानी बोर्डमा काम गरिरहेका पौडेललाई बैंक सञ्चाल, पूँजी परिचालनका बारेमा थप जानकारी मिल्यो।

सञ्चालक भएर बैंकमा गएपछि बैंकले कस्तो क्षेत्रमा पूँजी कसरी परिचालन गरिरहेको छ ? कस्ता क्षेत्रका व्यवसायी लगानी खोजिरहेका छन् र समग्र बैकिङ प्रणाली कसरी सञ्चालित छ ? भन्नेबारे थाह पाए । यसले व्यवसायतर्फ मोडिन सहयोग गरेको बताउँछन् उनी ।

‘नेपाल सन् २०२६ मा बिकासोन्मूख देशमा उक्लने वा २०३० एसडीजी गोल अचिभ गर्ने कुरा नै किन नहोस् त्यसको ड्राइभिङ फोर्स भनेको नै प्राइभेट सेक्टर हो,’ उनी थप्छन्, ‘त्यसैले यो क्षेत्रलाई उकास्न इनोभेटिभ उद्यम र उद्यमीहरुले राम्रो लगानी पाउनुपर्छ, उद्यमी सबल भएको देश पनि सबल हुनसक्छ भन्ने अनुभव मैले लगानी बोर्डमा काम गरेपछि थाह पाएँ ।’

अर्थतन्त्र बलियो हुन निजी क्षेत्र सबल बनाउनुपर्छ भन्नेमा पौडेल प्रष्ट थिए ।

कामको शिलशिलामा लगानी नपाएर राम्रो प्रतिफल दिने कम्पनीहरु पनि खुम्चिनुपरेको अनुभव गरेका थिए उनले । लगानीकर्ता नेपालमा लगानी गर्न नपाएर बाहिरिने अवस्था र उद्यमी लगानी नपाएर खुम्चनुपर्ने अवस्थालाई नियालेका उनी पुलेसोको काम गर्न चाहन्थे । आध्यान्त फण्ड मेनेजेमेन्ट कम्पनी त्यही चाहानाको मूर्तरुप थियो । २०७५ साल पुसमा सरकारले लगानीलाई विविधिकरण गर्नका लागि स्पेसलाइज्ड इन्भेष्टमेन्ट फण्ड रेगुलेसन २०७५ लागु गर्यो । यसले पुँजी बैंकमा मात्रै थुपारेर बस्ने कम्पनीहरुलाई लगानी विविधिकरण गर्न सक्ने वातावरण बनायो ।

पौडेल नेपालमा छरिएको लगानीलाई एकतृत गरेर लगानी गर्ने वातावरण बनाउन सकिन्छ भन्नेमा ढुक्क थिए ।

‘छरिएर रहेको पुँजी एकिकृत गर्ने योजना लाई मुर्तरुप दिन हामीले आध्यान्त सुरु गर्यौं’ उनले भने ।

आध्यान्त अर्थात् सुरुदेखि अन्त्यसम्म ।

‘हामी लगानीमात्रै गर्दैनौं उद्यमीको व्यवसायिक यात्रामा सुरुवातदेखि अन्तसम्म साथ दिन्छौँ भन्ने सन्देश पनि हो आध्यान्त,’ उनी भन्छन् ।

आध्यान्त जसरी आउने व्यवसाय नेपालका लागि विल्कुलै नयाँ थियो र अहिले पनि नयाँ नै छ । पौडेलले ४ जना व्यावसायिक साझेदारसहित एक वर्ष अध्ययन गरेर सन् २०२१ मा आध्यान्त सुरु गरे । सुरुवाती समय सहज थिएन । लगानी माग्न आउने वातावरणभन्दा बढी लगानी गर्न आउने बातावरण बनाउनु चुनौति थियो ।

‘भारतमा पनि वैदेशिक लगानीसमेत भेन्चर क्यापिटलबाट ल्याउने प्रचलन छ नेपालमा आन्तरिक लगानी पनि व्यवस्थापन नभइरहेको अवस्थामा हामीले व्यवस्थापन गर्ने जोखिम उठायौं’ उनले भने।

झण्डै एक वर्षको अनुसन्धानपछि आध्यान्तले २ सरकारी र ३ वटा निजी बैंकलाई लगानी साझेदार बनाउन सफल भयो ।

लगानी बोर्डमा काम गर्दा प्रयोग हुने सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडल बोर्ड छोडेपछि आफैंले नेतृत्व गरेको आध्यान्तमा समेत निकै प्रभावकारी भएको उनको बुझाइ छ ।

‘सरकारी बैंक अन्र्तगत राष्ट्रिय वाणिज्य बैंक र कृषि बिकास बैंक हामीसँग जोडिएको छ भने निजीतर्फ लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र महालक्ष्मी बिकास बैंकसँग जोडिएर काम गरिरहेका छौँ’ उनले भने ।

बैंकहरु साझेदारको रुपमा आएपछि पौडेल आध्यान्तलाई नयाँ उचाईमा पुर्याउन आतुर छन् । छरिएर बसेको पूँजीलाई एककिृत गरेर उत्पादनमुलक क्षेत्रमा पुर्याउने प्रमुख माध्यम आध्यान्तलाई बनाउन उनी अनवरत लागि परिरहेका हुन् ।

यसरी बन्दैछ आध्यान्त उद्यमीको साथी

आध्यान्तलाई बुझ्न सुरुमा बैंक र फण्ड मेनेजमेन्ट कम्पनीले गर्ने लगानीबीचको भिन्नता बुझ्नुपर्छ । बैंक तथा वित्तीय संस्थाले दिने व्यवसायीक ऋण नितान्त ऋण हो । जसमा बैंकले सिमित अवधिभित्र ऋण चुक्ता गुर्नपर्ने गरि धितो लिएर ऋण दिन्छ । पौडेल बैंक नितान्त ऋणदाता भएको बताउँछन् । तर, आध्यान्तको प्रतिफल अपेक्षित लगानी हुन्छ । आध्यान्तले स्वपुँजी अर्थात् इक्वीटीमा लगानी गर्छ ।

यदि व्यवसाय सञ्चालन गरिरहेका उद्यमी पूँजी थप गर्ने योजनासहित आउँछन् भने उनीहरुले योजना, वित्तीय अवस्था र समस्याका बारेमा प्रस्ताव पेश गर्नुपर्छ । प्रस्ताव पेश गरेपछि आध्यान्तको विशेष टिमले उक्त उद्यमको समग्र अवस्था अध्ययन गरेर कति लगानी गर्ने वा नगर्ने भन्ने निर्क्यौल गर्छ । यसरी लगानी सुरक्षित देखिएको अवस्थामा उक्त टिमले फेरि लगानी जुटाउनका लागि लगानीकर्ताको खोजी गर्छ । लगानीकर्ताबाट लगानी जुटाएर सोही पैसा उद्यमीलाई दिन्छ ।

आध्यान्तले लगानी उद्यमीको अवस्था हेरेर पुँजी प्रवाह गर्छ । जस्तो उद्यमीले व्यवसायीक योजनामा साथ खोजेमा वा बिजनेश पार्टनर आवश्यकता अनुभव गरेमा व्यवसायीक योजनासहित आध्यान्तको टिम व्यवसायीक पनि साझेदार बन्छ र लगानी गर्छ ।

निश्चित अवधिमा लगानीको प्रतिफल संकलन गर्ने योजनाका साथ व्यवसायीक साझेदार बनेको आध्यान्तको टिम लगानी उठेपछि भने कम्पनी उद्यमीलाई नै हस्तान्तरण गरेर फर्किन्छ ।

‘हामीले कम्पनी ठूलो छ भने आइपीओ जारी गरेर बाहिरिन्छौँ नत्र सेयर बेचेर बाहिरिन्छौँ’ उनी भन्छन्– ‘समग्रमा भन्दा कम्पनीलाई निश्चित उचाइमा पुर्याएर बाहिरिन्छौं ।’

पौडेल व्यवसायिक साझेदार भएर लगानी गर्दा उद्यमीले छिटो प्रतिफल पाउनेहुनाले पनि व्यवसायीक सारथीको रुपमा आध्यान्तलाई अथ्र्याउँछन् । भएका व्यवसायी पलयान भइरहेको अवस्थामा अर्कैको लगानी अर्कैको व्यवसायमा गर्न भने उति सजिलोे छैन पौडेललाई ।

‘अरुको उद्यमका लागि अरुकै लगानीको दायित्व उठाउन सजिलो छ र ?’ उनी प्रश्न गर्छन् ।

आध्यान्तले अहिलेसम्म आइपुग्दा ३ अर्ब रुपैयाँ बराबरको लगानीकोष खडा गरिसकेको छ । र, यी लगानी १० वर्ष अवधिका छन्। उक्त कोष बाट २ वटा कम्पनीमा लगानी प्रवाह गरिसकेको छ भने ३ वटा व्यवसाय लगानी पाउने अन्तिम चरणमा छन् । चालु आवमा ५ वटा कम्पनीमा लगानी गरिसक्ने योजनामा छन् उनी ।

‘चुनौतीकाबीच देखिने अवसरलाई समात्नु नै हाम्रो कम्पनीको मुल उद्देश्य हो’ उनी थप्छन्, ‘त्यसका लागि हामीले व्यवसायले माग गरेको लगानी हालेर कति ग्रोथ हुनसक्छ भन्ने कुरा निक्र्यौल गरेरमात्रै हामी लगानी गर्छौँ, तसर्थ लगानी सुरक्षित छ भन्ने भए पछिमात्रै हो लगानी गर्ने ।’

त्यसो त सुरुवाती दिनमा लगानीकर्ता र उद्यमी दुवैको अभाव खेपेका पौडेल अब भने उद्यमी र लगानीकर्ता दुवै लगानीका लागि आध्यान्तसम्म आइपुग्ने बताउँछन् ।

‘हामीसँग अहिले ५ अर्ब रुपैयाँ बराबरको माग आएको छ हामी माग अनुसारको लगानी जुटाउन लागिपरिरहेका छौँ,’ उनले भने।

लगानी संकलन र प्रवाहमा आध्यान्तले कमाउने नाफा

साधारणतया लगानी गर्ने सबै कम्पनीले अपेक्षित नाफा गर्छन् भन्ने हुँदैन । पौडेल आफैं पनि यो कुरामा स्पष्ट छन् । तर, लगानीकर्ताको अपेक्षा सँधै प्रतिफलमा नै केन्द्रित हुन्छ । लगानीकर्तालाई उचित प्रतिफलसँगै लगानी फिर्ता गर्ने सम्झौतामा आध्यान्तले विभिन्न व्यवसायमा लगानी प्रवाह गर्छ ।

लगानी गरेको उद्यमले प्रतिफल दिन सकेन भने भन्ने प्रश्नमा पौडेल आफुहरु सजग रहेको बताउँछन् । यसका लागि आध्यान्तले पूँजी एकिकृत गरेर मात्रै विविधिकरण गर्छ । जस्तो लगानी गरेको मध्ये कुनै एक कम्पनीले शतप्रतिशत नाफा गर्छ भने कुनै कम्पनीले शुन्य नाफा गर्नसक्छ । शुन्य नाफा गर्ने कम्पनीको लगानीकर्तालाई मार नपरोस् भन्नका लागि पौडेल लगानीकर्ताबाट संकलित पूँजीलाई एकिृकत गरेर विविधिकरण गर्ने बताउँछन् ।

उनी भन्छन्,‘हामीले लगानीकर्ताबाट लगानी एकिकृत गरेर व्यवसायमा विविधिकरण गर्छौं, यस्तो अवस्थामा शतप्रतिशत नाफा गर्ने कम्पनीले नाफा नगर्ने कम्पनीको लगानीकर्तालाई पनि समेट्छ र घाटा हुन दिँदैन ।’

व्यवसाय अनुसार छुट्छुट्टै लगानीकर्ता नहुने तर्क गर्छन् उनी । यसबीचमा आध्यान्तले भने लगानीकर्तालाई लगानी र प्रतिफल फिर्तामात्रै गर्दैन । लगानी बापतको कोषको २ प्रतिशत रकम व्यवस्थापन खर्चबापत कम्पनीले लिन्छ । यो बाहेक व्यवसायमा गरेको लगानीबाट र्सिजित नाफाबाट ८० प्रतिशत लगानीकर्तालाई र बाँकी २० प्रतिशत कम्पनीले लिन्छ । यसरी कम्पनीले लगानीकर्ता र व्यवसायी बीचको पुलेसो बनेर आम्दानी गर्छ ।

स्टार्टअपदेखि ठूला उद्यममा लगानी

आध्यान्त आफैं हुर्किदैछ । यसर्थ ठूलो जिम्मेवारी लिन अझै केही समय पर्खिनुपर्ने ठान्छन् पौडेल । उनी भन्छन्,‘हामीले सञ्चालनमा रहेका र नाफा गर्न सक्ने वित्तीय अवस्था भएका कम्पनी वा स्टार्टअप दुवैमा लगानी गर्छौं ।’

बिजनेश आइडियाका आधारमा भने लगानी गर्न अझै सक्षम भइसकेको छैन आध्यान्त । कम्पनीले सञ्चालनको केही वर्ष भने वित्तीय अवस्था परिपक्व भएका कम्पनीहरुमा लगानी गर्ने रणनीति बनाएको छ ।

‘अहिले सुरुवाती नै भएका कारण हामी कम जोखिम भएका क्षेत्रमा लगानीलाई केन्द्रित गरेका छौं’ उनले भने ।

त्यसो त कम्पनीले लगानी जुटाउँदै लगेको खण्डमा भने केही वर्षपछि स्टार्टअप कम्पनी र ग्रोथ ओरियन्टेड विजनेश आइडियालाई पनि लगानी उपलब्ध गराउने योजनामा छ । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट समूहतर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी महासंघको लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमको सभापतिसमेत हुन् । यसअघि उनी सोही समतिका उपसभापति थिए ।

‘सीपयुक्त जनशक्तिले मात्र देशको विकासमा बलियो टेवा पुग्ने धारणा राख्ने उनले काठमाडौं टेक्निकल स्कुल पनि सञ्चालन गरेका छौं,’ उनले भने ।


सम्झना घिमिरे