शालिन पोखरेलको मृत्युबारे गहन अनुसन्धान गरी दोषीलाई कारबाही गर्न कांग्रेस र एमालेको माग



काठमाडौं । नेपाली कांग्रेस तथा प्रतिपक्षि राजनीतिक दल नेकपा एमालेले चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा १४ वर्षीया शालिन पोखरेल मृत फेला परेको घटनाको गहन अनुसन्धान गर्न माग गरेको छ।

कांग्रेसले शनिबार विज्ञप्ति जारी गर्दै घटनाबारे निष्पक्ष ढंगले अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ।

‘चितवनको रत्ननगर नगरपालिका १० स्थित शिशु निकेतन बोर्डिङ स्कूलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको केही दिन अघि सोही स्कूलको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शंकास्पद विवरणहरुप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ कांग्रेसले भनेको छ,’विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाई आफैंमा अत्यन्तै दुःखद त भएको छ नै झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ। नेपाली कांग्रेस यो घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग जोडदार माग गर्दछ।’

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत उक्त घटनाको निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेका छन् ।

‘चितवनको शिशु निकेतन स्कूलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ। यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस्,’ सामाजिक सञ्जालमा उनले उल्लेख गरेका छन्,’परिवार र आफन्त अत्यन्त पीडित छन्। यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौं।’

गोरखा अजिरकोट गाउँपालिका– ५ मुच्चोकका दिपेन्द्र पोखरेलकी १४ वर्षीय छोरी शालिन चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलद्वारा सञ्चालित होस्टेलमा मृत फेला परेकी थिइन्। कक्षा ८ मा अध्ययनरत उनी फागुन १२ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

शालिनका बुवा दिपेन्द्र र आमा सगुनले आफ्नी छोरीको बलात्कारपछि हत्या भएको आरोप लगाएका छन्। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दिपेन्द्रले भनेका थिए,’लास झुण्डिएको अवस्था र त्यहाँका वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुण्डिएर आत्महत्या गरेको भन्ने दावी अस्वभाविक र अपत्यारिलो देखिन्थ्यो।’

घटनापछि सो विद्यालयमा गइ मृत्युको सम्बन्धमा छलफल गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालिनकी रुममेट, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाइ छलफलपछि मात्र मुचुल्का गरौँ भन्दा प्रहरीले स्कुल परिसरभित्रै आफ्ना भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरेको किशोरीका दिपेन्द्र बताउँछन्।

आफू काठमाडौँमा भएको बेला उक्त घट्ना घटेको जानकारी विद्यालयबाट आएको र ‘म नआइकन कुनै पनि प्रक्रिया अगाडि नबढाउनुस्, म दुई घण्टामा आइपुग्छु’ भनेर विद्यालय प्रशासनलाई जानकारी गराउँदा त्यहाँ पुग्दा प्रमाण नष्ट गराउने मनशायले विभिन्न क्रियाकलाप भइसकेको उनको भनाइ छ।

आफू त्यहाँ पुग्नुभन्दा पहिले नै ‘घटना भएको छात्रावास’को ढोका फोडिएको र घटना भएको ठाउँमा सरसफाइ गरिएको उनको भनाइ छ। साथै, शालिनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा आफूले फेला पारेको र उक्त कुराको भिडिओ फुटेज आफूसँग सुरक्षित रहेको उनले बताए। ती सबै काम प्रमाण नष्ट पार्ने उद्देश्यले भएको उनको भनाइ छ।

उक्त घटनामा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र वार्डेनलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्ननगर वडा १० का ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेल छन्। सालिनको मृत्युपछि उनका बुबासहित परिवारजनले उनीहरुबिरुद्ध किटानी जाहेरी दिएका थिए।


क्लिकमान्डु